८० वर्षपछि पहिलोपटक घट्यो नेपालको जनसंख्या, किन पुगेन तीन करोड ?
काठमाण्डौ । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भनेर धेरैले ‘तीन करोड नेपाली जनता’ भनिदिन्थे ।
२०७८ मा हुने जनगणनाले नेपालको जनसंख्या तीन करोडभन्दा बढी पुगेको देखाउने धेरैको अनुमान थियो । राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पुगेको देखिएन, झन्डै ८ लाख कम पर्यो । विभागका अनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ ।
तीमध्ये पुरूष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ । यो संख्या २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । अर्थात् नेपालको पछिल्लो दश वर्षमा प्रतिवर्ष जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत छ । यो बिक्रम सम्वत् १९९८ पछिको सबैभन्दा न्यून वृद्धिदर हो ।
नेपालमा १९६८ मा पहिलो पटक जनगणना भएको थियो । त्यसपछिका २० वर्षमा नेपालको जनसंख्या लगातार घट्यो । नेपालमा पहिलो पटक जनगणना भएको दुई वर्षपछि पहिलो विश्वयुद्ध सुरू भएको थियो। त्यतिबेला बिफरको महामारी पनि चलेकाले जनसंख्या घटेको हुन सक्ने विज्ञहरूको भनाइ छ ।
विक्रम सम्वत् १९९८ पछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ ।
वृद्धिदर १ प्रतिशतभन्दा कम भएको भने यसैपालि हो । जनसंख्याको वृद्धिदर एक प्रतिशतभन्दा कम हुनुको अर्थ के हो र यसले के संकेत गर्छ भन्नेबारे हामीले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा गोविन्द सुवेदी र प्रा योगेन्द्रबहादुर गुरूङलाई सोधेका थियौं । प्राध्यापक गुरूङले तीन करोडको आँकडा नेपालीको दिल दिमागमा बसिसकेकाले जनगणनामा त्यति नपुग्दा धेरैलाई आश्चार्य लागेको भए पनि यो वृद्धिदर स्वभाविक रहेको बताए ।
‘२०६८ मा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो । अहिले घटरे ०.९३ प्रतिशत पुगेको छ । पछिल्लो दशकमा नेपालको आर्थिक र सामाजिक विकासक्रमलाई हेर्दा यो स्वभाविक हो, अचम्म मान्नु पर्ने कुरा होइन्,’ प्राध्यापक गुरूङले भने । जनसंख्याको वृद्धिदर जन्म, मृत्यु र बसाइँसराइँका आधारमा तय हुन्छ । नेपालको वृद्धिदर कम हुँदै जानुको कारण मृत्यु र बसाइँसराइँ बढी हुनुभन्दा पनि जन्म नै कम हुनु रहेको उनले बताए ।
उनले भने,‘अहिले त काम गर्ने समूहका मानिसको नेपाललाई कुनै समस्या छैन तर जन्मदर घट्दै जाने हो भने ४०,५० वर्षपछि युवा जनशक्तिको अभाव हुनसक्छ ।’ विभागका प्रमुख प्राध्यापक सुवेदी अहिलेको नतिजा प्रारम्भिक भएकाले अन्तिम परिणामसम्म यो संख्या तलमाथि हुन सक्ने बताउँछन् ।
‘आज प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। विकसित मुलुकमा पनि अन्तिम परिणाम पाँच प्रतिशतसम्म तल माथि हुन सक्ने देखिएको छ ।
महामारीका बेला जनगणना भएकाले केही मानिसहरू छुटेका पनि हुन सक्छन् ।’ विभाग प्रमुख सुवेदीले भने,‘त्यसका बाबजुद् पनि जनसंख्या तीन करोड नपुग्नु अस्वभाविकचाहिँ होइन ।’ प्रारम्भिक नतिजालाई आधार मान्दा केही कुराले महत्वपूर्ण असर पार्ने सुवेदीले बताए । ‘सबैभन्दा ठूलो कुरा तराईरमधेसको जनसंख्या २०६८को भन्दा तीन प्रतिशतले बढेको देखियो ।
निर्वाचन क्षेत्र तोक्दा जनसंख्यालाई आधार मान्ने भनेकाले अब ती जिल्लामा निर्वाचन क्षेत्र बढ्ने भए भने जनसंख्या घटेका हिमाल र पहाडका जिल्लामा कटौती हुने भए ।’ सुवेदीले भने,‘अर्कातिर अहिले युवापुस्तामा विदेश जाने र उतै सेटल हुने क्रम पनि बढेको छ । अन्तर्राष्ट्रिय बसाइँसराइँले जनसंख्यामा दीर्घकालमा असर पार्छ ।’ प्रारम्भिक नतिजामा परिवारको आकार पनि दश वर्षअघि भन्दा घटेको देखिन्छ ।
२०६८ मा एउटा परिवारमा ४.८८ मानिस बस्थे भने अहिले घटेर ४.३२ पुगेको छ । ‘मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा परिवारको आकार औसतभन्दा बढी छ । यसले के देखाउँछ भने केही समुदाय र क्षेत्रमा जनसंख्याको ट्रेन्ड राष्ट्रिय औसतभन्दा फरक देखिएको छ,’ सुवेदीले भने । प्राध्यापक सुवेदी र गुरूङले नेपालको जनसंख्या वृद्धिदर केही वर्षभित्र ऋणात्मक भने नहुने बताए ।
‘आउने दशकमा जनसंख्या घटे पनि ठूलो दरमा घट्दैन, ऋणात्मक हुनचाहिँ अझै केही दशक लाग्छ होला,’ प्राध्यापक गुरूङले भने । विभिन्न अध्ययनहरूले नेपालको जनसंख्या वृद्धिदर सन् २०४५ सम्ममा शून्यमा पुग्ने देखाएका छन् । ‘हाम्रो जनसंख्या वृद्धिदर सन् २०४५ सम्म शून्यमा पुग्ने देखिएको छ । त्यसभन्दा अघि कुनै ठूलो उथुलपुथल भएन भने जनसंख्यामा पनि ठूलो परिवर्तन हुँदैन,’ सुवेदीले भने । यो समाचार सोतोपाटीमा छ ।


