३ कार्तिक २०८३, सोमबार

नेपाल–भारत सम्बन्ध जनस्तरदेखि नै प्रगाढ छ : प्रवक्ता कार्की

एसीपी संवाददाता

१२ भाद्र २०७९, आईतवार ०९:१३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र भारतको सम्बन्ध जनस्तरदेखि सरकारसम्म प्रगाढ रहेको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा आज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “नेपाल–भारत सम्बन्ध सरकार र सरकार बीचमा मात्र नभई जनता र जनताबीच प्रगाढ रहिआएको छ ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको विकासमा भारत सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको समृद्धि र विकासमा भारतको महत्वपूर्ण भूमिका रहिआएको बताए । उनले भारतसहित अन्य देशको साथ र सहयोगबाट अबको केही वर्षमै आफ्नो देशलाई समृद्ध मुलुक बनाउने कार्यमा वर्तमान सरकार लागिपरेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बहुआयामिक एवं बहुसांस्कृतिक रहेको बताए । नेपाल र भारतको बीचमा रहेको आर्थिक सम्बन्धको विषयमा भारत सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, “द्विपक्षीय आर्थिक सम्बन्धको विषयमा भारत सधैँ सुदृढ र समृद्ध सोचका साथ अगाडि बढ्छ ।”

भारतको जोगवनीदेखि फारबिसगञ्जको बीचमा रहेको मीरगञ्ज पुलका कारणले दुई देशबीच हुँदै आएको व्यवसायमा केही बाधा आएकाले उक्त समस्या समाधान गर्नका लागि भारत सरकारसँग कुराकानी भइरहेको उनले जानकारी दिए । उनले गहुँ र चिनी आयातको विषयमा भारत सरकारसँग आफूले कुराकानी गरेको र नेपाल सरकारले आयातकर्ता र निर्यातकर्ताको पूर्ण विवरण उपलब्ध गराएको खण्डमा छिट्टै यो समस्या समाधान हुने विश्वास दिलाए । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै सुनसरी आउनुभएका राजदूत श्रीवास्तवले सुनसरीको विभिन्न कार्यक्रममा सहभागी भए ।  उक्त कार्यक्रममा सङ्घीय संसद् सीताराम मेहता, जिल्ला समन्वय समितिका सभापति राजन मेहता, उपसभापति कमला दाहाल खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल, भोक्राहा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहतालगायतको सहभागिता थियो । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x