सुरेन्द्र पाण्डे भन्छन्- बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस्, एमसीसी पास गरेर सरकारले ठीक गर्यो
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रियामा पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताए ।
बीआरआईमा चीनको आक्रमक योजना नभएको पाण्डेको भनाइ छ । आफूलाई बीआरआई आउँछ भन्ने आशा नभएको पनि उनले बताए ।
‘नेपालसँग चीनको सीमित मात्रै चाहना रहेको छ । जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो । बीआरआईको कुरा गर्दा पनि चीनको एग्रेसिभ योजना छैन सामान्य मात्रै देख्छु । काम गरिरहेको छ तर प्रगति केही छैन,’ पाण्डेले भने, ‘अहिले जसरी बीआरआई एग्रेसिभ भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ । मलाई पत्यार लागेको छैन । चीनबाट बीआरआई आउँछ भन्ने लाग्दैन । त्यसकारण चीनको यो मनोविज्ञानलाई बझेर अगाडि बढ्नुपर्छ ।’
सरकारले एमसीसी पास गरेर ठीक गरेको पाण्डेले बताए । नेपालमा एमसीसी आउँदा चीनले चासो दिएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भए भारत पनि रिसाउने अवस्था आउने उनले बताए ।
‘अमेरिकी सहयोग एमसीसी लिएर ठीक गरेका छौँ । एमसीसी आउँदा चीनको चिन्ता चासो उठाएको होला,’ पाण्डेले भने, ‘नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउँछ ।’
विदेशी राष्ट्रहरूको स्वार्थ बुझेर वैदेशिक लगानीम्बन्धी नीति बनाउनुपर्ने पाण्डेको भनाइ छ । ‘भारतले नै नेपाललाई धेरै सयोग आउन दिँदैन । त्यसकारण नेपाली यो सेन्सेटिभिटीलाई हेरेर वैदेशिक लगानीसम्बन्धी नीति बनाउनुपर्छ,’ पाण्डेले भने, ‘विश्वका मुलुकहरू अन्य स्वार्थमा हिँडेका होलान् तर, नेपालले आफ्नो स्वार्थका लागि सबैसँग वैदेशिक सहयोग लिनुपर्छ ।’ सिलापत्र


