११ असार २०८३, बिहीबार

चीनमा कोरोना महामारीको नयाँ लहर

एसीपी संवाददाता

५ पुष २०७९, मंगलवार ०९:१६ मा प्रकाशित

एजेन्सी –  कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन्। भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्। अर्काे महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ।

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो। योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ। चीनमा गत शनिबार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको थियो। ओमिक्रोन भाइरसको संक्रामक भेरियन्टका कारण राजधानी बेइजिङका क्याटरिङ र पार्सल डेलिभरी सेवा अवरुद्ध भइसकेको छ। यसैगरी दाहसंस्कार गृहमा पनि चाप बढ्दो छ। बेइजिङको बाबाओसान भन्ने समाधि गृहमा आइतबार एकै मिनेटमा कैयन् शव वाहन प्रवेश गरेको देखिएको थियो भने समाधिस्थलको पार्किङ स्थल पनि पुरै भरिभराउ थियो।

‘शववाहनको अभावमा आफन्तहरूले निजी वाहन प्रयोगमा ल्याइरहेका छन्,’ समाधि गृहमा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने। उनका अनुसार समाधिस्थलबाट निस्कने धुवाँका कारण आकाश धुम्म देखिएको थियो भने मृतकको अस्तु संकलन गर्न आतुर आफन्तजनको भिड ठुलो थियो। चीनको उत्तर–पश्चिम सहर जिआनका सबवे खाली रहेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् भने अर्काे सहर सांघाईमा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा पनि कुनै भिड देखिएको छैन। ‘उत्सवको माहोल पुरै हराएको छ,’ सांघाईका एलिस नाम गरेका एक स्थानीयले भने। यसैगरी चेङ्दु सहरको सडक पनि सुनसान देखिएका छन् तर फुड डेलिभरी सेवा भने सुचारु छ।

सांघाईमा सोमबारदेखि विद्यालयहरूलाई अनलाइन पठनपाठन गर्र्न–गराउन निर्देशन दिइसकिएको छ भने अन्य सहरले पनि हिउँद यामका सेमेस्टरलाई तत्काल रोक्न निर्देश गरिसकेका छन्। चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा भाइरस संक्रमणको नयाँ लहर यो हिउँदमा उच्च बिन्दुमा पुग्ने बताएका छन्। अमेरिकामा अवस्थित एक अनुसन्धान निकायले कोभिड संक्रमणका कारण सन् २०२३ मा चीनमा १० लाख मानिसको मृत्यु हुने आकलन गरेको छ। चीनले सन् २०२१ मा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरे पनि ६० वर्षभन्दा माथिका जनसंख्याको थोरै प्रतिशतले मात्र खोप लगाएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ८० वर्षमाथिका ६६ प्रतिशतले मात्र खोपको पूरा मात्रा लगाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x