समाजसेवामा सक्रिय आरजु राणा, सुपमा महिला र बालबालिकासम्बन्धी विशेष अस्पताल खोल्ने सपना
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रभावशाली नेत्री आरजु राणा देउवा सामाजिक कार्यमा सक्रिय छिन् । खासगरी नेपाली राजनीति र महिला सशक्तिकरणका क्षेत्रमा उनी सक्रिय अगुवा हुन् । हाल प्रतिनिधिसभा सांसद रहेकी राणासँग सामिजक कामको लामो अनुभव छ । सुरक्षित मातृत्व सञ्जाल, साथी, ग्रामिण महिला तथा एकता केन्द्र, सेफ मदरहुड नेटवर्कजस्ता सामाजिक संस्थाहरुमार्फत उनले महिला र बालबालिकाका पक्षमा काम गर्दै आएकी छन् ।
सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर सामाजिक अभियान चलाइरहेकी राणाको सुदूरपश्चिममा महिला र बालबालिकाका लागि एउटा विशेष अस्पताल खोल्ने सपना छ ।
विगतमा संविधानसभा सदस्य हुँदा नयाँ संविधानमा महिला अधिकारका कुरा लेख्न पाएकामा उनी सन्तुष्ट छिन् । ‘संविधानमा लेखिएका कुरा व्यवहारमा लागु गर्न हामीले इमान्दार प्रयास गर्नुपर्छ । म त्यसकै लागि क्रियाशील छु,’ उनले भनिन् ।
जावलाखेल ललितपुरमा जन्मे हुर्केकी राणाले चण्डीगढ (भारत)को पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी छन् । उनी सन् १९९६ देखि राजनीतिमा सक्रिय छिन् । राजनीतिमा आउने आरजुले सोचेकै थिइनन् । ‘राजनीतिज्ञसँग विहे गर्छु भन्ने पनि सोचेको थिइन् । राजनीतिमा आएँ । त्यसैले सकुन्जेल मुलुकको सेवा गर्छु ।’
सामान्य जीवनशैली र समाजसेवी भावना भएकी आरजुलाई गरिब दिनदुखी तथा महिला बालबालिकाको सेवामा सक्रिय भइरहन मन पर्छ । बाँकी राजनीतिक जीवन पनि त्यसैमा समर्पित गर्ने उनको योजना छ ।
देश विदेश घुमेकी आरजुलाई नेपालकै ठाउँ घुम्ने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने इच्छा छ । देशभित्रै चाडपर्वहरुमा एकता प्रदर्शन गर्न आरजु कहिले मधेस त कहिले पहाड पुगिरहन्छिन् । नेपालीको एकता अभिवृद्धिमा उनले आफ्नो तर्फबाट योगदान पुर्याइरहेकी छन् ।


