नेपाल टी-२० मा सबैभन्दा बढी रन अन्तरले विजयी बन्दै अर्को विश्व कीर्तिमानी कायम
काठमाडौं । एसियन गेम्स अन्तर्गतको टी–२० क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । नेपाल टी-२० मा सबैभन्दा बढी रन अन्तरले विजयी बन्दै अर्को विश्व कीर्तिमानी कायम गरेको हो ।
मंगोलियाले सबै विकेट गुमाएर १३.१ ओभरमा ४१ रन बनाएको हो । मंगोलियाका दाभासुरेन जमैनसुरेनले सर्वाधिक १० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसी, अबिनाश बोहरा र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए ।
सुरुवाती ब्याटिङ गरेको नेपालका अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शन गर्दै ५० बलमा १३७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले २७ बल खेल्दै ६१ रन बनाए ।
नेपालका मल्लले ३४ बलमा शतक प्रहार गर्दै विश्व क्रीतिमान समेत बनाएका छन् ।
नेपालले टी-२० कै इतिहासमा सर्वाधिक रन बनाएको छ । यसअघि अफगानिस्तानले आयरल्याण्ड र चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको २७८ रनको रेकर्ड भत्काउँदै नेपालले नयाँ रेकर्ड बनाएको हो ।


