अराजक प्रसाईं, अपरिपक्व एमाले
लोकतान्त्रिक व्यवस्था विरोधी गतिविधि हुन थालेको भन्दै नेकपा एमालेले संगठित रूपमा यही मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शन चुनौतीपूर्ण बनेको छ। व्यवस्था विरोधी तत्वहरुले ले एमालेको प्रदर्शनमा घुसपैठ गर्न सक्ने आकलन गरिएको छ।
दुर्गा प्रसाईंको आवरणमा हुन लागेको प्रदर्शनमा पनि घुसपैठ हुन सक्ने अनुमान गरिएको छ। त्यसक्रममा आतंकको अवस्था निम्तिन सक्ने भएकाले एमालेका लागि ७ गतेको प्रदर्शन चुनौतीपूर्ण बनेको हो। दुवै प्रदर्शनका सहभागीको आपसमा भेट नहोस् भन्नेमा सरकार पनि सचेत देखिएको छ। त्यसकारण माइतीघर मण्डलामा दुवै पक्षलाई प्रदर्शन गर्न रोक लगाइएको छ। अन्यत्रै प्रदर्शन गरे पनि अराजक तŒवको घुसपैठ भए त्यसको जिम्मेवारी कसले लिने भन्ने चिन्ता देखिएको छ।
आफूले गर्ने प्रदर्शनमा आतंक मच्चिए आफैंले त्यसको जिम्मा लिने एमालेले बताएको छ। तर प्रसाईंको आवरणमा हुने प्रदर्शनमा घुसपैठ भएको खण्डमा त्यसको अपजस पनि एमालेलाई नै जाने देखिएको छ। तर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने त्यस्तो खतरा नभएको बताउँछन्। युवा संघको अगुवाइमा हुने प्रदर्शनको सम्पूर्ण सुरक्षा एमाले कार्यकर्ताले गर्ने उनको भनाइ छ। सरकारको सुरक्षा के–कस्तो हुन्छ भन्नेमा आफू अनभिज्ञ रहेको बताउँदै उनले ७ गतेका लागि प्रदर्शन पूर्वघोषित कार्यक्रम भएकाले कुनै व्यक्ति वा संघसंस्थासँग मुठभेड गर्ने उद्देश्य आफूहरूको नरहेको स्पष्ट पारे। ‘हाम्रो सुरक्षा हामी आफैंले गर्छौं, अरू को, कहाँ, के भन्ने हामीलाई थाहा छैन। एमालेको सुरक्षाबारे अरूले चासो र चिन्ता जाहेर गर्नु स्वाभाविक भए पनि पार्टीले आफ्ना लागि सुरक्षा व्यवस्था आफैं मिलाउनेछ,’ उनले भने।
मंसिर ७ गते एमालेको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको सिंगो पार्टीले स्वामित्व लिँदै देशव्यापी रूपमा जनसंगठन परिचालन गरेर प्रतिरोध गर्ने भएको थियो। त्यसपछि प्रसाईंको आवरणमा हुने प्रदर्शनमा मुठभेड हुन सक्ने अनुमानसहितका समाचारहरू प्रकाशित भएका थिए। एमालेले ७ गतेको प्रदर्शनलाई राजनीतिक मिसनका रूपमा समेत लिएको छ। एमालेले सुरुदेखि नै सरकारको विरोधका रूपमा उक्त कार्यक्रम तय गरे पनि मेडिकल व्यवसायी दुर्गा प्रसार्इंको एक समूहले पनि राजसंस्था पुनःस्थापनाको माग राख्दै सोही दिनमा प्रदर्शन गर्ने जनाएको थियो। नागरिक न्युज


