१३ मंसिर २०८३, शनिबार

अवैध इ-रिक्सा ‘होल्ड’ अभियानः दोस्रो दिन पनि ८२ रिक्सा नियन्त्रणमा

एसीपी संवाददाता

२१ मंसिर २०८०, बिहीबार ०९:३६ मा प्रकाशित

​नेपालगञ्ज । अवैधरुपमा चलेका इ-रिक्सा ‘होल्ड’ अभियान अन्तर्गत दोस्रो दिन ८२ वटा इ-रिक्सा नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखिएको छ । आज पनि नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ४३ वटा यात्रुबहाक इ-रिक्सा जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । ।

नेपालगञ्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गर्न सुरु गरेको छ । यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको हो । मंगलबार पनि १३२ इ-रिक्सालाई चल्न नदिएर ‘होल्ड’ गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न नदिइने नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले यातायातमा प्रक्रिया पुर्याएर आएपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकामा सूचीकृत हुने बताए ।

जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, इ-रिक्सा कम्पनी लगायत सरोकारवाला वीचको ‘निरन्तर छलफल र वैठक’ पछि इ-रिक्सा ‘होल्ड’ गर्न सुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा संचालक र चालकलाई सचेत बनाउँदै आएको थियो । पछिल्लोपटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो ।

नेपालगञ्ज सहरमा आवश्यकता भन्दा बढी इ-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तब्यस्तता बढेको छ । दुर्घटना पनि बढ्दो छ । यो समस्यालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा चलेका इ-रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिब ४ हजार इ-रिक्सा गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा करिव १० हजार इ-रिक्सा गुडेको बताइन्छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालिकामा २८०० इ-रिक्सा मात्र सूचीकृत भएको राजश्व शाखा प्रमुख विरबहादुर थापाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x