१३ मंसिर २०८३, शनिबार

यू-१९ एसिया कप : आज नेपाल र अफगानिस्तान खेल्दै

एसीपी संवाददाता

२४ मंसिर २०८०, आईतवार ०८:३८ मा प्रकाशित

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भइसकेको छ । समूह ‘ए’मा नेपालसँगै पाकिस्तान, भारत र अफगानिस्तान छन् । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।

दोस्रो चरण प्रवेशका लागि नेपालका लागि बाँकी खेल जित्नै पर्ने दबाब छ । नेपाल र अफगानिस्तान अंकबिहीन अवस्थामा छन् । यो समूहका भारत र पाकिस्तानले दुई दुई अंक जोडेका छन् ।

समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। यो समूहमासमेत युएई र जापान अंकबिहीन बन्दा बंगलादेश र श्रीलंकाले दुई दुई अंक जोडेका छन् । दोस्रो चरण प्रवेशका लागि नेपालले अब भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्ने दबाब छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालको खराब सुरुवात
शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो । युएईस्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा जितका लागि नेपालले दिएको एक सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो । नेपालका लागि उत्तम मगरले ७६ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाएका थिए । दिपेश कँडेलले ५९ बलको सामना गर्दै ३१ रन जोडेका थिए

अर्जुन कुमाल २१ रनमै आउट हुँदा सिनियर टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका गुलसन झा चार बल खेल्दै एक रनमै आउट भएका थिए । पाकिस्तानका बलरसामु नेपाली ब्याटिङ नचल्दा मध्यम स्कोर बनेको थियो। नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मह रिजवान एक्लैले ६ विकट लिएका थिए ।
बलिङमा नेपालका गुलसन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए ।

नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ।

नेपालले अर्को खेल मसिंर २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा। खबरहब बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x