३२ असार २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन माथी प्रतिबन्ध लगाउने तयारीको घोषणा

एसीपी संवाददाता

९ माघ २०८१, बुधबार १९:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनेबारे आफूले सोचिरहेको बताएका छन्।

आफ्नो प्रशासनमा त्यसबारेको छलफल “उनीहरूले मेक्सिको र क्यानडामा फेन्टनिल [नामक औषधि] पठाइरहेको तथ्यमा आधारित” रहेको बताए।

ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिइरहँदा यस भनाइ आएको हो।

ट्रम्पले आफ्ना ती छिमेकी देशहरूलाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउँदै त्यसो भनेका हुन्।

ट्रम्पले कुन देशलाई के भने?

चिनियाँ सामग्री

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,डोनल्ड ट्रम्पले नयाँ करदर लागु गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ

मङ्गलवार वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ ईयूलाई समेत आयात शुल्क लगाउने वाचा गरे।

“चीन दुर्व्यवहारकर्ता हो, तर युरोपेली सङ्घ हामीप्रति निकै, निकै नराम्रो भइरहेको छ,” उनले भने।

“उनीहरूले हामीलाई निकै, निकै नराम्रो व्यवहार गरिरहेका छन्। त्यसैले उनीहरू आयात शुल्क लगाइनेमा पर्नेवाला छन्। त्यसको क्षतिपूर्ति गर्ने यही एउटा तरिका हो। निष्पक्षता कायम गर्ने यही मात्र तरिका हो।”

मङ्गलवार शपथग्रहण गरेलगत्तै नयाँ राष्ट्रपतिले सङ्घीय अधिकारीहरूलाई हाल कायम रहेका व्यापार सम्झौताहरूको समीक्षा गर्न र अमेरिकाका व्यापार साझेदारहरूबाट भएका अनुचित अभ्यास पहिचान गर्न निर्देशन दिएका छन्।

चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने वाचा गरेका थिए।

प्रतिक्रिया

यसैबीच एक शीर्ष चिनियाँ अधिकारीले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा ‘संरक्षणवाद’विरुद्ध बोलेका छन्।

चिनियाँ उपप्रधानमन्त्री डिङ सियासियाङले अमेरिकाको नाम उल्लेख नगरीकनै व्यापारसम्बन्धी विवादमा “सबैले जित्ने” उपायका लागि आह्वान गरेका छन्।

त्यसैगरी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यससँग जुझ्ने प्रतिज्ञा गरेका छन्।

“यदि [अमेरिकी] राष्ट्रपति आयातमा लगाइने शुल्कका विषयमा अगाडि बढ्न चाहन्छन् भने क्यानडाले त्यसको जबाफ दिने छ – र सबै कुरा टेबलमा छ,” ट्रुडोले भने।

त्यस्तो जोखिमको जबाफ दिनका लागि क्यानडा जबाफी कर लगाउने तयारीमा छ, जुन अर्बौँ डलरबराबरको हुने बताइएको छ।

क्यानडा, चीन र मेक्सिको अमेरिकाका शीर्ष व्यापार साझेदार हुन्।

ट्रम्पको आर्थिक योजनामा कर मुख्य पक्षका रूपमा छ। राष्ट्रपति ट्रम्प त्यसले अर्थतन्त्रको उत्थान, रोजगार संरक्षण र करमार्फत् हुने आम्दानी बढाउने बताउँछन्।

तर कैयौँ अर्थशास्त्रीहरू यस्तो उपायले अमेरिकीहरूलाई उच्च मूल्यभार पर्न सक्ने र विदेशी प्रतिरोधबाट कम्पनीहरूलाई असर पर्न सक्ने बताउँछन्। बिबिसीनेपाली बाट साभार गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x