५ मंसिर २०८३, शुक्रबार

आगामी निर्वाचनको रणनीति बनाउन जनमत पार्टीको सक्रियता, नरैनापुर अध्यक्ष शाह र शीर्ष नेतृत्वबीच छलफल

एसीपी संवाददाता

५ मंसिर २०८३, शुक्रबार १०:४४ मा प्रकाशित

नेपालगन्ज, मसिर ४ —  आगामी निर्वाचनको तयारी र राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै राष्ट्रिय जनमत पार्टीले राजनीतिक भेटघाट तथा छलफललाई तीव्रता दिएको छ। यसैक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राष्ट्रिय जनमत पार्टीका शीर्ष नेतृत्वबीच नेपालगन्जस्थित पार्टी कार्यालयमा भेटघाट तथा विस्तृत राजनीतिक छलफल भएको छ।

पार्टीका केन्द्रीय संरक्षक मोहम्मद इरफान शेषको विशेष निमन्त्रणामा अध्यक्ष शाह नेपालगन्जस्थित रामलीला मैदानमा रहेको पार्टी कार्यालय पुग्नुभएको हो। कार्यालयमा पुग्नुभएका शाहलाई केन्द्रीय संरक्षक शेषले न्यानो स्वागत गर्नुभएको थियो।

भेटघाटका क्रममा आगामी निर्वाचनको तयारी, चुनावी रणनीति, राजनीतिक समीकरण तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा गहन छलफल भएको जनाइएको छ। छलफलमा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेषसहित पार्टीका अन्य नेताहरूको समेत सहभागिता रहेको थियो।

छलफलका क्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा सुदृढीकरण, जनतामाझ पार्टीको पहुँच बढाउने, सम्भावित राजनीतिक सहकार्य र चुनावी योजनाका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

केन्द्रीय संरक्षक मोहम्मद इरफान शेषले अध्यक्ष शाहसँगको भेटघाटलाई आगामी राजनीतिक दिशा र निर्वाचनको तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा लिनुभएको जनाइएको छ। त्यस्तै, अध्यक्ष शाह र पार्टी नेतृत्वबीच स्थानीय राजनीतिक अवस्था तथा आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल भएको बताइएको छ।

स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलको शीर्ष नेतृत्वबीच भएको यस भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी आगामी निर्वाचन नजिकिँदै गर्दा भएको यो भेटले सम्भावित राजनीतिक समीकरण र सहकार्यबारे विभिन्न अड्कलबाजीलाई समेत बढाएको छ।

यद्यपि, भेटघाटका क्रममा कुनै औपचारिक राजनीतिक निर्णय, सहमति वा भावी राजनीतिक सहकार्यबारे सार्वजनिक घोषणा भने गरिएको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x