१ श्रावण २०८३, शुक्रबार

इजरायलले गरेको हमलाले लेबनान बस्ने नेपाली भन्छन्, ‘रातभर बम त्रासमा

एसीपी संवाददाता

१९ आश्विन २०८१, शनिबार १३:५६ मा प्रकाशित

शुक्रबार राति पनि लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा इजरायलले भीषण आक्रमण जारी राखेको समाचार संस्था अल जजिराले लेखेको छ । यसअघि बिहीबार रातिसमेत इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।

इजरायलले आफ्नो ‘तार्गेट’ हिजबुल्लाह मात्र भएको दाबी गर्दै आएको छ । यद्यपि, आक्रमणमा सर्वसाधरणहरू धेरै मारिएका समाचार छन् ।
आक्रमण खेपिरहेको लेबनानमा १२ सयभन्दा बढी नेपाली श्रमिक र ८ सय ७७ जना नेपाली सैनिक कार्यरत छन् । अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली सेना पनि बंकरभित्र सुरक्षित रहेको बताइएको छ ।

बेरुतमा रहेर काम गरिरहेकी सिन्धुपाल्चोककी सानु तामाङले आफूहरू अहिलेसम्म सुरक्षित नै भए पनि बिहीबार रातिदेखि डर र त्रास बढेको बताइन् ।

‘बिहीबार र शुक्रबार ठूल्ठूलो आवाजमा विस्फोट सुन्दा डराएका छौँ, के गर्ने भनेर सोच्न सकिरहेका छैनौँ । केही साथी काममा जान छोडेका छन्’, उनले भनिन् ।

दिनको समयमा विस्फोटको आवाज नसुनिए पनि राति भयभीत पार्ने गरी बम पड्किने गरेको सानुले बताइन् । ‘एक हप्तादेखि दिनमा पनि बाहिर निस्केका छैनौँ, राति त सुत्नै नसक्ने गरी बम पड्किन्छ’, उनले भनिन् ।

रोजगारदाताले चिन्ता नलिन भनेकाले आफूले नेपाली दूतावाससँग तत्काल उद्धारको अनुरोध नगरेको उनले बताइन् । ‘म काम गर्ने घरको मालिक इसाई हुन् ।

म बस्ने क्षेत्रमा इसाईहरू बढी छन्, यता सिधै आक्रमण भएको छैन, अहिलेसम्म यही नै राहतको विषय हो’, उनले भनिन्, ‘सुन्नी मुसलमान बढी भएको क्षेत्रमा काम गर्ने साथीहरू पनि डराएका छन् तर ती क्षेत्रमा पनि सिधा आक्रमण नभएकाले उहाँहरू अहिलेसम्म सुरक्षित नै हुनुहुन्छ ।’

इजप्टिका लागि नेपाली राजदूत सुशील लम्सालले आफूहरू बेरुतमा रहेका नेपालीहरूसँग निरन्तर संवादमा रहेको र आवश्यक सतर्कता अपनाउन भनिरहेको बताए ।

‘असुरक्षित भएको अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने भनेका छौँ, उहाँहरूले नै हामी ठीक छौं भन्ने गर्नुभएको छ । उद्धार माग्नेलाई हामी सहयोग गर्न तत्पर छौँ’, उनले भने । लेबनानको जनसंख्या करिब ६० लाख छ । देशमा ५२ प्रतिशत मुस्लिम र ४४ प्रतिशत क्रिश्चिन बस्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x