१४ गते पौष २०७८ । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौताको अहिले सबैभन्दा बढी विरोधमा उत्रिएका छन् नेकपा एमालेका नेता डा. भीमबहादुर रावल । उनले हरेक फोरममा एमसीसी राष्ट्रघाती हो भनिरहेका छन् ।
चिनियाँ राजदूत होउ यान्छीको पछिल्लो दौडधुपले रावललाई एमसीसी रोक्न चीनले परिचालन गरेको चर्चा पनि भइरहेको छ । तर अहिले एमसीसीको चर्को विरोध गरिरहेका भीम रावल एक समयमा एमसीसीकै पक्षधर थिए भन्ने बिर्सन हुँदैन ।
सरकारमा मन्त्री हुँदासम्म रावल एमसीसी पक्षधर थिए । उनले एमसीसीको विरोध त कतै गरेका छैनन । उल्टै मन्त्रिपरिषदमा रहेर समर्थन गरेका थिए । प्रधानमन्त्री केपी ओलीको २०७३ असार ३१ गतेको मन्त्रिपरिषद बैठकले एमसीसी नेपाल कम्प्याक्टलाई नेपाल तर्फको १३ अर्ब ३० करोड निकासा दिने निर्णय गरेको थियो ।
त्यो मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए भीम रावल । त्यो पास गर्दा रावलले समर्थन नै गरेका थिए । तर अहिले विगतमा सरकारमा सहभागी हुन नपाएको, पार्टीभित्र पेलानमा परेको, प्रतिपक्षी भूमिका निभाउने तथा चिनियाँ संलग्नतासमेतका हिसाबले रावल चर्को विरोधीका रुपमा उदाए ।
‘त्यतिखेर उनले यसबारे कहिँ कतै एक शब्द चु बोलेको सुन्नु भयो ? त्यसवापत उनले कुनै सार्वजनिक नैतिक दायित्व स्वीकार गरेका छन् अहिले सम्म ?’ जसपाका नेता एवं राजनीतिक विश्लेषक डम्बर खतिवडाले प्रश्न गरेका छन्, ‘सस्तो लोकप्रियताका लागि झुठ र पाखण्डको राजनीति अनैतिकता र बेइमानी बाहेक केही हैन ।’
