१२ भाद्र २०८३, शुक्रबार

थपुवामा जनआवाज : “हामीलाई दिपेन्द्र जस्तो युवा चाहिन्छ”

एसीपी संवाददाता

७ फाल्गुन २०८२, बिहीबार ११:३७ मा प्रकाशित

सबिता चन्द
नेपालगन्ज, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० थपुवामा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। यही माहोलबीच बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट प्रति स्थानीय मतदाताको आकर्षण झनै प्रस्ट देखिन थालेको छ। थपुवाका गल्ली, चौतारी र आँगनमा आजकल एउटै स्वर सुनिन्छ— “अब राजनीति बुझ्ने, जनताको पीडा महसुस गर्ने दिपेन्द्र जस्तो युवा चाहिन्छ।”

घरदैलो भेटघाटका क्रममा उम्मेदवार बिष्टले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनका समस्या सुन्नुभयो। बेरोजगारी, बाढी–डुबानको त्रास, शिक्षा र स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा खुलेर कुरा राख्ने उहाँको शैलीले थपुवाबासीको मन छोएको देखिन्थ्यो। धेरै मतदाताले लामो समयदेखि सुन्नेभन्दा बोल्ने नेता धेरै भए पनि, समस्या सुनेर समाधानको बाटो खोज्ने नेता कम भएको गुनासो गरे।

स्थानीय एक वृद्ध मतदाताले भावुक हुँदै भन्नुभयो, “हामीले धेरै चुनाव देख्यौँ, धेरै वाचा सुनेँ। तर दिपेन्द्र जस्तो शालीन, धैर्य गरेर कुरा सुन्ने र आँखा जुधाएर जवाफ दिने युवा पहिलो पटक देख्दैछौँ।” उहाँको यो भनाइले थपुवामा परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट गर्छ।
युवाहरूमा त झनै उत्साह देखिन्थ्यो। रोजगार, सीप विकास र खेलकुदजस्ता विषयमा बिष्टले राखेका विचारले आफूहरूलाई आशा पलाएको उनीहरूको भनाइ छ। “हामीलाई भाषणभन्दा अवसर चाहिएको हो, र त्यो अवसर दिने सोच दिपेन्द्रमा देख्छौँ,” एक स्थानीय युवा मतदाताले बताए।

महिलाहरूले पनि उहाँको सरल व्यवहार र परिवार–समुदायप्रतिको संवेदनशील दृष्टिकोणको प्रशंसा गरे। घरदैलोमा आएका बेला महिलाहरूका सवाललाई ध्यानपूर्वक सुन्ने र सम्मानजनक जवाफ दिने शैलीले आफूहरूलाई भरोसा दिलाएको उनीहरूको अनुभव थियो।
थपुवामा देखिएको यो माहोल केवल चुनावी उत्साह मात्र होइन, पुस्तान्तरणको संकेत जस्तै देखिन्छ। पुराना अनुहार र पुरानै शैलीबाट आजित मतदाताले अब जिम्मेवार, ऊर्जावान र जवाफदेही नेतृत्व खोजिरहेका छन्। र उनीहरूको नजरमा त्यो आकांक्षाको प्रतिनिधि बनेर उभिनुभएको छ—दिपेन्द्र बिष्ट।

यसरी, नेपालगन्ज–२० थपुवामा उठेको जनआवाजले बाँके क्षेत्र नं. २ को चुनावी समीकरणलाई नयाँ मोडतर्फ धकेल्दै छ। “हामीलाई दिपेन्द्र जस्तो युवा चाहिन्छ” भन्ने यो आवाज अब थपुवामा मात्र सीमित नरही, पूरै क्षेत्रमा प्रतिध्वनित हुन थालेको स्थानीयहरू बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x