३० कार्तिक २०८३, आईतवार

नेपालगन्ज–१४ मा ‘मिसन ८४’ को सरगर्मी बढ्दै, वडा अध्यक्षका लागि रमजान अलि कबाडियाको चर्चा

एसीपी संवाददाता

३० कार्तिक २०८३, आईतवार १४:२७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक २९ गते — आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राजनीतिक गतिविधि र चुनावी सरगर्मी बढ्न थालेको छ। यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा राष्ट्रिय जनमत पार्टीका तर्फबाट वडा अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा युवा नेता रमजान अलि कबाडियाको नाम चर्चामा आएको छ।

हाल राष्ट्रिय जनमत पार्टी नेपालगन्ज–१४ का वडा इन्चार्जको जिम्मेवारी सम्हालिरहेका कबाडिया आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार, जनसम्पर्क तथा स्थानीयस्तरका गतिविधिमा सक्रिय देखिनुभएको छ। पार्टीको संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानअन्तर्गत उहाँले वडाका विभिन्न टोलमा स्थानीय बासिन्दासँग भेटघाट र अन्तरक्रियालाई तीव्रता दिनुभएको छ।

लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका कबाडियालाई स्थानीय समस्या र जनसरोकारका विषयमा चासो राख्ने युवा नेताका रूपमा हेरिएको छ। विशेषगरी युवापुस्तामाझ उहाँको सक्रियता र राजनीतिक उपस्थितिले आगामी निर्वाचनमा उहाँको सम्भावित उम्मेदवारीलाई लिएर चर्चा बढाएको छ।

वडाको समग्र विकास, सुशासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने आफ्नो सोच रहेको कबाडियाको भनाइ छ।

‘वडा नम्बर १४ को विकासका लागि नयाँ सोच, युवा ऊर्जा र जनताको चाहनाअनुसार काम गर्ने नेतृत्व आवश्यक छ। वडावासीका समस्या बुझ्दै विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो।उहाँले आगामी ‘मिसन ८४’ मा वडावासीको साथ, सहयोग र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गर्दै जनताको चाहना र आवश्यकताअनुसार आफूलाई अघि बढाउने बताउनुभएको छ।

यता,राष्ट्रिय जनमत पार्टीको स्थानीय संगठनले पनि वडा नम्बर १४ मा संगठन विस्तार र जनसमर्थन बढ्दै गएको दाबी गरेको छ। पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय कबाडियालाई आगामी निर्वाचनका लागि सम्भावित बलियो दाबेदारका रूपमा हेरिएको छ।

निर्वाचन आउन अझै समय रहे पनि नेपालगन्ज–१४ मा सम्भावित उम्मेदवारको चर्चा र राजनीतिक गतिविधि बढ्दै जाँदा ‘मिसन ८४’ को चुनावी माहोल क्रमशः तात्न थालेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x