पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
एसीपी संवाददाता
१७ कार्तिक २०८१, शनिबार १२:३६ मा प्रकाशित
मास्टुङ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाईल तस्बिर ।
बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।”
विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन । पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकूहरूले बारम्बार निशाना बनाउने गरेका छन् । एजेन्सीन्युज