प्रधानमन्त्री पत्नी आरजु देउवाले नेपालमा महिला प्रधानमन्त्री बन्ने अवस्था चाँडै आउने विश्वास व्यक्त
०२ गते पौष २०७८ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले नेपालमा महिला प्रधानमन्त्री बन्ने अवस्था चाँडै आउने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति सभामुख प्रधानन्यायाधीश महिला भइसकेको भन्दै अब स्वभाविक रुपमा प्रधानमन्त्री पनि महिला बन्ने दिन धेरै टाढा नभएको बताइन् ।
‘म आफैं ह्युमन बिहेभियर साइकोलोजिस्ट हुँ । हाम्रो जस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा महिलालाई चाँडै प्रधानमन्त्री बनाउने माहोल बन्ला जस्तो लाग्दैन । पुरुषहरुलाई गाह्रो लाग्छ नै, महिलाहरुलाई पनि गाह्रो लाग्छ । तर महिलाले देशको नेतृत्व गर्न नसक्ने होइन,’ उनले थपिन्, ‘रोल्पामा जन्मनुभएकी ओनसरी घर्तीले सभामुख चलाएर देखाउनुभयो । उहाँ एसएलसी पनि पछि मात्र पास गर्नुभएको हो । संविधानले बाध्यो भने नेपालमा चाँडै महिला प्रधानमन्त्री होलान् नत्र गाह्रै छ ।’
शेरबहादुर देउवाकी पत्नी भएकाले राजनीति गर्न गाह्रो भएको छैन भन्ने अर्को प्रश्नमा उनले भनिन्, ‘राजनीति शेरबहादुरजीको ‘वन्ली गोल’ हो । म श्रीमती हुँ, आमा हुँ, बज्यै हुनेछु, सामाजिक कार्यकर्ता पनि हुँ, सामाजिक नेटवर्क छ ।
तर देउवाको राजनीतिबाहेक अरु लाइफ छैन । मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ ।’


