१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानमा सैन्य हतियार छुटे पछि तालिवानले धमाधम कब्जा गर्दै

एसीपी संवाददाता

१४ भाद्र २०७८, सोमबार ०२:४० मा प्रकाशित

प्राचिनकालदेखि नै अफगानिस्तान अस्थिर छ । यहाँ पहिले पर्सियन,त्यसपछि अलेक्जेन्डर,त्यसपछि मंगोल,मुगललगायत शासकहरुले हमला गरे । आधुनिककालमा १९ औं शताब्दीमा बेलायत,२० औं शताब्दीमा रुस र २१ औं शताब्दीमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरे । तर,लडाइँ जित्न सकेनन् ।

१९८९ मा रुसी सेना फर्कनासाथ मुजाहिद्दिन र केही समयपछि तालिबानी लडाकुहरु रुसी एके ४७ बोकेर टी–५५ ट्यांकमा सवार भएको देखिन्थ्यो । अहिले यी तालिबानी लडाकुहरु अमेरिकामै बनेको एम १६ राईफल बोकेर अमेरिकी फौजी गाडी हमभीमा बसेको देखिन्छ । फोब्र्सको आँकलनअनुसार अमेरिकाले अफगानिस्तान ८ लाख ८४ हजार ३ सय ११ वटा आधुनिक सैन्य उपकरण छाडेको छ । यसमा एम१६ राईफ,एम ४ कार्बाइन,८२ एमएम मोर्टर लन्चरजस्ता आधुनिक हतियार तथा हमभीजस्ता सैन्य वाहन,ब्ल्याक हक हेलिकप्टर,ए२९ लडाकु विमान,नाइट भिजन,सञ्चार सामाग्रीलगायत उपकरण छन् ।

२००३ पछि अफगानी सेना र पुलिसका लागि यी अत्याधुनिक उपकरण खरिद गरिएको थियो । फोब्र्सले अमेरिकी रक्षा विभाग पेन्टागनको लजिस्टिक्स एजेन्सी (डिएलए) को डाटाबेस अध्ययन गरेर यो तथ्याङ सार्वजनिक गरेको हो ।

तालिबानविरुद्ध ‘वार अफ टेरर’ छेडेको अमेरिकाले अफगानी सेना र पुलिसलाई हतियार तथा तालिम उपलब्ध गराउन ८३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको थियो । अफगानिस्तानमा छुटेका सामाग्रीमा ५ लाख ९९ हजारभन्दा धेरै हतियार,७६ हजारभन्दा धेरै सैन्य वाहन र २ सय ८ सैन्य विमान छन् ।

विशेषज्ञहरुका अनुसार अफगानी सेना र सरकारको आत्मसमर्पणपछि यीमध्ये धेरै हतियार तालिबानको हातमा पुगेको छ । एउटा बलियो फौज खडा गर्नका लागि यी हतियार पर्याप्त छन् ।

अमेरिकाले हटायो अडिट रिपोर्ट

जो बाइडेन प्रशासनले अफगानिस्तानका लागि खरिद गरिएका हतियार र सैन्य उपकरणहरुको अडिट रिपोर्ट लुकाउन थालेको छ । फोब्र्स डटकमका अनुसार यस विषयका दुई महत्वपूर्ण प्रतिवेदनलाई सरकारी वेवसाइटहरुबाट गायब गरिएको छ ।

तर,अमेरिकाको सरकारी खर्चबारे निगरानी गर्ने ‘वाच डग ओपन द बुक्स डटकम’ ले यी दुबै रिपोर्ट आफ्नो वेवसाइटमा पोस्ट गरेको छ ।

आधुनिक हतियार प्रयोगको तयारीमा जुट्यो तालिवान

गुप्तचरहरुका अनुसार अहिलेसम्म तालिबानले हमभीसहित २  हजारभन्दा धेरै बख्तरबन्द गाडीहरु,युएच–६० ब्ल्याक हक्स अट्याक हेलिकप्टरहरुसहित ४० भन्दा धेरै सैन्य विमान र स्क्यान ईगल ड्रोन्स कब्जामा लिइसकेको छ । यी उपकरणहरु प्रयोगमा ल्याउने तयारी पनि उसले थालिसकेको छ ।

तालिबानको कब्जामा ब्ल्याक हक्स देखेपछि सिनेटर तर्सिए

अमेरिकाका रिपब्लिकन सिनेटरहरुले अफगानिस्तानमा छोडिएका अमेरिकी हतियारहरुको हिसाब माग्न सुरु गरेका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलाई लेखिएको एक पत्रमा सिनेटरहरुले  ब्ल्याक हक्स तालिबानको कब्जामा गएको देखेपछि आफुहरु त्रसित बनेको बताएका छन् । ‘अमेरिकी जनताको करबाट किनिएका आधुनिक हतियार र उपकरणहरु तालिबान र उसका आतंककारी सहयोगीहरुको हातमा पुगेको कुरा सोच्न पनि मुस्किल छ,’सिनेटरहरुले भनेका छन्,‘अफगानिस्तानबाट फर्कने घोषणा गर्नुअघि अमेरिकी सम्पत्तिलाई बचाउनु रक्षा विभागको सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने थियो ।’ एजेन्सीहरुको सहयोग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x