अर्जुन कुमालको कीर्तिमानी शतक , नेपालको स्कोर ३ पार

काठमाडौँ — अर्जुन कुमालले कीर्तिमानी शतक बनाएपछि नेपालले एसीसी यु १९ प्रिमियर कप क्रिकेटमा बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय ४८ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस हारेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाई ३ सय ४७ रन बनायो
अर्जुन कुमालको १ सय ४२ रनमा नेपालले विशाल योगफल बनाएको हो । अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि संरचनामा नेपाली ब्याटरको यो व्यक्तिगत उच्च स्कोर हो । यु १९ को अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको यो दोस्रो शतक हो । फागुनमा उनले कुवेतविरुद्ध आईसीसी यु १९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय ८ रन बनाएका थिए ।
कनिष्क चौंगाईले सन् २००३ मा पाकिस्तानको कँराचीमा माल्दिभ्सविरुद्ध र देव खनालले फागुनमा कुवेतविरुद्ध आईसीसी यु १९ विश्वकप छनोट एसिया क्षेत्रमा यूएईमा बनाएको समान १ सय २५ रन यसअघि यू १९ अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । अर्जुनले त्यो दुवै नेपाली कीर्तिमानलाई भंग गरेका हुन् ।
रोहित पौडेलले सन् २०२२ को मार्चमा पपुवा न्यु गिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको १ सय २६ रन कुनै पनि संरचनामा नेपाली खेलाडीको यसअघिको उच्च स्कोर थियो । अर्जुनले बांगीस्थित वाईएसडी युकेएम ओभलमा रोहितको स्कोरलाई पनि उछिनेका हुन् । देवपछि यु १९ अन्तर्राष्ट्रियमा दुई शतक बनाउने कीर्तिमान पनि अर्जुनले बराबरी गरेका हुन् ।
ओपनर दीपक बोहरा २९ रनमा आउट भएपछि अर्जुनले आकाश त्रिपाठीसँग दोस्रो विकेटमा १ सय ८९ रनको साझेदारी गरेका थिए । अर्जुनले १ सय ११ बलको इनिङ्समा कुल १७ चौका र २ छक्का प्रहार गरे । आकाशले ९८ बलमा ८९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । कप्तान देव खनाल दुई बल खेली शून्यमा आउट भए ।
दीपक डुम्रे १४, मिलन बोहरा ९ र दीपेश कँडेल १४ रनमा आउट भए । साउदी अरेबियाका अहमद राजा र घायेर अहमदले २–२ विकेट लिए ।
नेपालले यसअघिका दुई खेलमा बहराईन र इरानलाई पराजित गरेको थियो । साउदीसँगको खेल जितेमा नेपाल समूह विजेता बनेर सेमिफाइनल पुग्ने छ । ईकान्तिपुर