एमसीसी की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तु र प्रधानमन्त्री देउवासँग भेटवार्ता
एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयको भनाइ
१७ गते कात्तिक २०७८ बुधबार — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् ।
जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् । भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
कांग्रेसभित्रै र अन्य राजनीतिक दलभित्र एमसीसीका बारेमा विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सम्झौता पास गर्नुपर्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नुनपर्ने बताउँदै आएका छन् । केही दिनअघि गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका थिए ।
उनले अन्तर्वार्तामा भनेका थिए, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् । ईकान्तिपुर
अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । हालै अन्त्य गरिएको संसद् अधिवेशनबाट पनि एमसीसी सम्झौता अनुमोदन नभएपछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।
संसद् अधिवेशन कात्तिक १२ मा अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो । एमसीसी सम्झौता अनुमोदन नगरिँदा लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्याउन ढिलाइ भएको एमसीसीले जनाएको छ ।


