काबुलमा आईएसको हमलामा तालिवानका कमान्डरको मृत्यु भएको खुलासा
१९ गते कात्तिक २०७८ । अफगानिस्तानको काबुलस्थित सैनिक अस्पतालमा मंगलबार इस्लामिक स्टेटले गरेको हमलामा परी तालिबानका एक कमाण्डरसमेत मारिएका छन् । बुधबार अधिकारीहरूले जनाए अनुसार कट्टरपन्थी हकानी नेटवर्कका सदस्य एवं बाद्री विशेष फोर्सका अधिकृत हमदुल्लाह मोखलिस मारिएका हुन् ।
हमदुल्लाह अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि भएका हमलामा मारिएका तालिबानका सबैभन्दा वरिष्ठ नेता हुन् । गत मंगलबार काबुलस्थित सरदार दाउद खान अस्पतालमा भएको हमलाको क्रममा जवाफी कारबाही गर्ने क्रममा उनको मृत्यु भएको बताइएको छ ।
अफगान मिडियाका अनुसार उक्त हमला हुना साथ तालिबान सुरक्षा फौजले लडाकु समूहमाथि जवाफी कारबाही सुरु गरेको थियो । अस्पतालमा भएको हमलाको क्रममा कम्तिमा १९ जना मारिएका थिए । साथै अरु थुप्रै घाइते भएका थिए ।
तालिबान सरकारले उक्त हमलालाई आत्मघाती हमला भनेको छ । हमलाको केही घण्टापछि इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको थियो । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि इस्लामिक स्टेटसहित सशस्त्र समूहका आक्रमण तीव्र भएका छन् । एजेन्सी


