नेपालगन्जस्थित गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले २१ लाख रुपैँया खुद नाफा गरेको छ । कुनै बेला घाटामा रहेको उक्त सहकारीले प्रगति गरि आर्थिक बर्ष ०७७–०७८ मा २१ लाख रुपैँया खुद नाफा गरेको हो ।
सहकारीका अध्यक्ष प्रदिप चौधरीले गत आवमा आठ करोड ६४ लाख १७ हजार १०८ रुपैँया कारोवार भएको बताए । बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष चौधरीले चालु आवमा शेयर सदस्य संख्या चार हजार पुर्याउने र २५ करोड बराबरको कारोवार गर्ने लक्ष्य लिएको बताए ।
उनले नेपालगन्जमा मात्र सिमित रहेको सहकारीलाई बाँकेका आठ वटै पालिकामा पुर्याउने बताउँदै ‘संस्थाको आह्वान, एक घर एक सफल उद्यमी निर्माण हाम्रो अभियान’ मुल नारालाई सार्थक बनाउन सहकारीले अभियान थाल्ने स्पष्ट पारे ।
सामाजिक दायित्व अन्तरगत सहकारीले रक्तदान, निशुल्क स्वास्थ्य शिविर, सरसफाई, बृक्षारोपन, उद्यमीलाई तालिम, सचेतनामुलक कार्यक्रम लगायतका गतिविधि गर्दैै आएको छ । सरकारीका पूर्व अध्यक्ष प्रेमबहादुर शाहले गरिवी निवारणका लागि सहकारीले उद्यम र ब्यवसायका लागि ऋण लगानी गर्ने बताए । उनले शेयर सदस्य र बचतकर्ताको रकम सुरक्षित गरिने बताउँदै बचत गर्ने बानीको विकास गर्न शेयर सदस्यलाई सुझाव दिए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का महासचिव दामोदर अधिकारीले विभिन्न बैंक र वित्तिय संस्थामा पहुँच नहुने ब्यक्ति र ब्यवसायीका लागि सहकारी स्थापना भएको बताए । उनले थोपा–थोपा पानी जम्मा भएर समुद्र बने जस्तै नियमित रुपमा थोरै–थोरै रकम जम्मा गरे लाखौँ हुने धारणा राखे । उनले पैँसाको सुरक्षा गरे आफ्नो पनि सुरक्षा हुने बताए । ‘पैँसाले भन्छ तपाईले समयमा मलाई जोगाउनुस म तपाईलाई समस्या परेको बेला जोगाउँछु,’ उनले भने ।
उनले बचत गर्ने बानीले बुढेसकालमा सहयोग मिल्ने बताए । पैँसाको महत्व नबुझ्दा गरिवी निम्तिने गरेको बताउँदै उनले बचत गर्न नजान्दा अभाव हुने गरेको बताए । धेरै पैँसा भयो भने जम्मा गर्छु भन्ने सोच्ने हो भने त्यो सम्भव छैन । तर, थोरै भए पनि नियमित रुपमा जम्मा गर्न सम्भव छ,’ उनले भने ।