भारतीय मुलका नेपाली साहित्यकारहरु , सौराहामा नेपाल–भारत साहित्य उत्सवमा सहभागी हुँदै
२६ गते कात्तिक २०७८ । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।
उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुडी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ ।
कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा.।नवीन पौडेल, डा. टिबी क्षेत्री तथा नेपालका डा. केशव चालिसे, डा.अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।
सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए ।


