चिनियाँ लडाकु विमान तयारी अवस्थामा अब के ?
चीन–ताइवानबीच सैन्य तनाव बढिरहेका बेला चीनले ताइवान नजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक भएको खबर आएको छ। बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो खबर विशेष रह्यो। त्यस्तै भारतमा छाडा चौपायालाई जोगाउन खोज्दा भएको सवारी दुर्घटनामा दर्जनौँको मृत्यु भएको खबर पनि चर्चामा रह्यो। पढ्नुहोस्, बिहीबार घटेका विश्वका केही प्रमुख खबरहरू ः
चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक
बेइजिङ ः चीनले ताइवाननजिकै नयाँ लडाकु विमान जे–१६ डी तैनाथ गरेको तस्बिर सार्वजनिक भएको छ। इलेक्ट्रोनिक युद्धको लागि ताइवानको पश्चिमी एयरवेसमा चीनले सो विमान तैनाथ गरेको स्याटेलाइट तस्बिर हालै सार्वजनिक भएको हो।
सो तस्बिर चीनको पिपुल्स लिवरेसन आर्मीले सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। इलेक्ट्रोनिक युद्धको लागि चीनले तैनाथ गरेको नयाँ लडाकु विमानले ताइवान स्ट्रेट क्षेत्रमा द्वन्द्व र तनाव झनै बढाउने साउथ चाइना मर्निङ पोष्टमा बिहीबार प्रकाशित समाचारमा उल्लेख छ।
यद्यपि, इलेक्ट्रोनिक युद्धको लागि डिजाइन गरिएका नयाँ लडाकु विमान कुन प्रयोजनको लागि सो क्षेत्रमा तैनाथ गरिएको हो भन्नेबारे कुनै सूचना बाहिर नआएको समाचारमा उल्लेख छ।
पछिल्लो समय चीनले लगातार तीन दिन ताइवानको वायु रक्षा क्षेत्रमा ठूलो संख्यामा युद्धक विमान पठाएको थियो। ताइवानको रक्षा मन्त्रालयले चीनको सो सैन्य गतिविधिको प्रतिक्रिया दिँदै दुई देशबिचको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको र आगामी ४ वर्षभित्रमा चीनले जुनसुकै समयमा ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ। एजेन्सी


