जनता बेहाल , कम्युनिस्टहरु सत्ताको खेलमा मन्त्री परिषद बिस्तार सम्म
गण्डकी प्रदेशमा अहिले एउटा मन्त्रालय रिक्त छ । मन्त्रालय हुँदाहुँदै राजीव गुरुङ (दीपक मनाङे) लाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार युवा तथा खेलकुदमन्त्री बनाए ।
रिक्त मन्त्रालय हुँदाहुँदै मुख्यमन्त्रीले आफ्नो स्वार्थका लागि मन्त्रालय फुटाए । माओवादीका दुई मन्त्री सरकारबाट बाहिरिएपछि गण्डकीमा कृषि मन्त्रालय मन्त्रीविहीन छ । कानुन मन्त्रालय भौतिक पूर्वाधार मन्त्रीले हेरिरहेका छन् । तर, मन्त्रालय रिक्त हुँदाहुँदै किन अर्को मन्त्रालय फुटाइयो ?
यस्तो मन्त्रालय बनाउने र मन्त्री बन्ने उनै नवनियुक्त मन्त्री गुरुङको इच्छा हो । मनाङे खेलकुद क्षेत्रमा बढी चासो राख्छन् । त्यसमा पनि उनलाई फुटबल मोह बढी छ । उनी मनाङ मर्स्याङ्दी फुटबल क्लबका सल्लाहकार समेत हुन् । गण्डकी प्रदेशमा मन्त्रालय थपिनुमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नवनियुक्त मन्त्री मनाङेको स्वार्थ मिलेको हो ।
मुख्यमन्त्री गुरुङलाई आफू नेतृत्वको सरकार जोगाउन मनाङेलाई व्यवस्थित गर्नुपर्ने थियो । किनकि उनी अविश्वास प्रस्तावको पक्षमा लागेको भए ‘गुरुङ सरकार’ ढल्ने सम्भावना अझ बलियो हुन्थ्यो ।

अहिले जनमोर्चाका सांसद खिमविक्रम शाही मुख्यमन्त्रीको पक्षमा लागेको चर्चा छ । सांसद शाही मुख्यमन्त्रीकै पक्षमा रहने र मनाङे कांग्रेस, माओवादी र जसपासँग मिल्दा पुनः ३१ मत पुग्छ । मुख्यमन्त्री गुरुङले त्यो संकट आउन नदिन मनाङेलाई रोजेकै मन्त्रालय दिएर व्यवस्थित गरिदिए ।
एक हप्ता अघिसम्म कम्युनिस्ट सरकार चाहिँदैन भन्ने अभिव्यक्ति दिँदै हिँडेका मनाङे अहिले भने ‘मनाङका जनताले पृथ्वीसुब्बाको साथ नछोड्न’ भनेको बताउँछन् । एमालेकै ‘रो’ मा बस्दै आएका मनाङेले संसदमा छुट्टै ठाउँ माग्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । त्यसअघि पनि कम्युनिस्टको सरकार रहन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । उनले मन्त्री हुन बार्गेनिङ गरिरहे । मुख्यमन्त्रीलाई तनाब थपियो ।
नवनियुक्त मन्त्री गुरुङ पनि आफू खेलकुदसँग बढी जानकार भएकाले सोही मन्त्रालय रोजेको बताउँछन् । ‘मन्त्रालय (सामाजिक विकास) सानो बनाउन मेरै आइडिया हो । यसलाई ठूलो बनाएर कामै छैन,’ मन्त्री नियुक्त भएपछि पत्रकारसँग भने, ‘पहिल्यैबाट गरिराखेको भएर सजिलो हुन्छ, खेलकुदको बारेमा पहिल्यैबाट जानकारी छ नि ।


खेलकुदको विकासका लागि योजना बनाइसकेको मन्त्री मनाङेको दाबी छ । आफ्नो योजनालाई सफल बनाउन सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।
नवनियुक्त मन्त्री मनाङेलाई अविश्वास प्रस्ताव ल्याएका दलले पनि ‘रोज्जा’ मन्त्रालय दिने अफर नगरेका होइनन् । त्यसको सुइँको पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकाएक सामाजिक विकास मन्त्रालय टुक्राएर मनाङेलाई रोजेकै मन्त्रालय थमाइदिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । एक सांसद स्वतन्त्र हुन् ।
अविश्वास प्रस्ताव ल्याएका कांग्रेस, माओवादी र जसपाका २८ सांसदको मत सरकार ढाल्ने पक्षमा छ । अविश्वासमा हस्ताक्षर नगरे पनि जनमोर्चाको पार्टीगत समर्थन अविश्वासकै पक्षमा छ । माओवादीबाट निर्वाचित भए पनि सभामुखले पदीय मर्यादाले गर्दा मतदान गर्न पाउँदैनन् ।
यसरी हालको अवस्थामा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र जसपाका २ सांसद अविश्वासकै पक्षमा रहेकाले ३१ मत पुग्छ । यी दलका एक जना सांसदले फ्लोर क्रम गरे ३० पुग्छ र अविश्वास प्रस्ताव फेल हुन्छ । आफ्नो पक्षमा ३२ सांसद पुर्याउन विपक्षीले मनाङेलाई आफ्नो पक्षमा आउन अफर गरेका थिए । मनाङेलाई आफ्नो पक्षमा ल्याएर अझ बलियो साबित गर्न खोजे पनि उनी पृथ्वीसुब्बाकै क्याबिनेटमा गएका हुन् ।

विवादित मनाङे
नवनियुक्त मन्त्री मनाङे एमालेको सहयोगमा मनाङ ‘ख’बाट स्वतन्त्र निर्वाचित हुन् । गत २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी एक हजार ४१० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका थिए । मनाङेका प्रतिस्पर्धी काँग्रेसका कर्म गुरुङले एक हजार २० मत प्राप्त गरेका थिए ।
गुन्डा नाइकेका रुपमा परिचित मनाङे एमालेकै सहयोगमा गत २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य बनेका हुन् । ज्यान मार्ने उद्योग, कुटपिट, गुन्डागर्दीमा मुद्दा चलिरहेकाले चुनाव जितेको एक वर्षसम्म उनले सांसदको सपथ लिन पाएनन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ६ वैशाख २०७५ मा उनी पक्राउ परे ।
१० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अनुसार ७ पुस २०७५ मा उनी छुटे ।
नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुना बाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे छुटेका थिए । सर्वोच्चले रिहा गर्न आदेश दिँदा उनी डिल्लीबजार कारागारमा थिए । जेलबाट छुटेको एक महिनापछि १४ माघ २०७५ मा उनले प्रदेशसभा सदस्यको सपथ लिए । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई प्रदेश सभा सदस्यको सपथ गराएका थिए ।
चर्चित गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरेपछि २०६० सालतिर उनी पक्राउ परे । त्यसपछि पनि उनी अरु घटनामा पक्राउ परे । पटकपटक जेल पुगे । १९ असार २०७६ मा उनी तत्कालीन नेकपामा प्रवेश गरे । पछि आफू स्वतन्त्रकै हैसियतमै रहेको बताउन थाले । तर, प्रदेशसभामा सत्तापक्षकै ‘रो’मा बस्दै आएका छन् ।
मनाङे राप्रपा, कांग्रेसका नेता पनि भए । २०७४ असोजमा एमाले छिरे । एमालेले उनको विवादित छविका कारण चुनावमा टिकट दिएन । उनले स्वतन्त्र उम्मेद्वारी दिए । एमालेले खाण्डा लामा गुरुङलाई उम्मेद्वार बनाए पनि उनले उम्मेद्वारी फिर्ता लिएर मनाङेलाई समर्थन जनाइन् ।
सांसद भएपछि उनले अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषय चर्चित बनेको थियो । मुख्यमन्त्री कप फुटबल खेल्न आफ्नो जिल्लाबाट आएका खेलाडीलाई व्यवस्थापन नगरेको भन्दै २०७६ माघ पहिलो साता उनले मैदानमै अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।
पछि अर्थ तथ विकास समिति सदस्यबाट राजीनामा बुझाए । विकास निर्माणको काममा भएका अनियमितताबारे पटकपटक कुरा उठाए पनि समितिले सुनुवाई नगरेको भन्दै गत वर्ष ८ असारमा मनाङले राजीनामा दिएका थिए ।
तस्बिरः सुदर्शन रञ्जित/ / शिलाापत्र


