जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
लुम्बिनी प्रदेशका पदमुक्त जसपाका ४ सांसदले उपेन्द्रसहित माओवादीबाट निर्वाचित प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा दर्ता गरेका छन् ।
उपेन्द्र यादवले पार्टी विधानविपरीत एकलौटी रुपमा कारवाही गरेर प्रतिशोध साधेको र त्यसलाई माओवादीका सभामुखले हेर्दै नहेरी कानुन विपरीत सदर गरेको उनीहरुको आरोप छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वास प्रस्तावबाट ब्याक भएर मन्त्री भएका चार जना सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादवलाई वैशाख १४ गते कार्यकारिणी बैठकले बसेको भनेर बहुमतको हस्ताक्षर प्रदेशसभामा उपेन्द्र पक्षले बुझाउँदा १६ गते सभामुख घर्तीले पदमुक्त गरेका थिए ।
पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।
तर, सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन् । सुरुमा रिट दर्ता गर्न जाँदा कोभिडका कारण सेवा कटौती गरेको अदालतले लिएन । आजदेखि सेवा बढाएसँगै उनीहरुको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।नेपालपाना


