जसपामा महन्थको दबदबा सुरुदेखि नै , उपेन्द्र बने मधेसी सम्झौता बिरोधि
काठमाडौं । पूर्वराजपा र समाजवादी पार्टी मिलेर बनेको जसपामा अहिले प्रष्ट दुई धार देखिएको छ । जसपा संस्थापन धारको नेतृत्व महन्थ ठाकुरले गरिरहेका छन् । उनी सिनियर अध्यक्ष पनि हुन् ।
त्यसैगरी अर्कोतिर इतर धारको नेतृत्व उपेन्द्र यादव र बाबुराम भट्टराईले गरिरहेका छन् । तर जसपामा महन्थको दबदबा सुरुदेखि नै रहँदै आएको छ । सरकारसँग वार्ता गर्न कार्यदल गठनदेखि प्रधानमन्त्रीसँग सघन वार्ता र मधेसका माग सम्बोधन सुरु गराउनसम्म महन्थ निर्णायक रहे ।
वर्षौदेखि अलपत्र मधेस मुद्दा सम्बोधनको पहिलो खुड्किलो अन्तर्गत सोमवारको मन्त्रिपरिषदले मधेसका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लिएको छ ।
जसपामा महन्थ निर्णायक बनिरहेका बेला पूर्वसमाजवादीतिर रहेका सांसदले उपेन्द्र र बाबुरामलाई छोड्न थालेका छन् । केन्द्रमै नयाँ गठबन्धनको पछाडि लागेका उपेन्द्रभन्दा महन्थको निर्णायक कदमका फ्यान पूर्वसमाजवादी सांसद छन् ।
पार्टी फुट्दा महन्थतिर जाने स्थिति देखिएको छ । यस्तोमा लुम्बिनी प्रदेशमा प्रदेश सांसदले उपेन्द्र र बाबुरामलाई झड्का दिएका छन् ।
केन्द्रमा माओवादी केन्द्र र कांग्रेससँग मिलेर नयाँ गठबन्धन सरकार बनाउन कसरत गरिरहेका बेला उपेन्द्र र बाबुरामका सांसदले लुम्बिनी प्रदेशमा भने एमालेसँग सहकार्य गरेका छन् । उनीहरु प्रदेश सरकारको मन्त्री नै भएका छन् । सपथ पनि खाइसकेका छन् ।
पूर्वसमाजवादीबाटै मन्त्री बन्नेमा सन्तोषकुमार पाण्डेय (भौतिक पूर्वाधार विकास मन्त्रालय), विजयबहादुर यादव (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय), सुमन शर्मा रायमाझी (भौतिक पूर्वाधार राज्य मन्त्री) रहेका छन् ।
पूर्व राजपाकी एक जनामात्र कल्पना पाण्डेयले शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शिक्षा तथा सामाजिक विकास मन्त्री पाण्डेयले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छैनन ।
आफ्नै सांसदले धोका दिएपछि…
यसैबिच मन्त्री बनेका सांसदलाई जसपाले फिर्ता बोलाएको छ । आफ्नै सांसदले धोका दिएपछि उपेन्द्र र बाबुरामले फिर्ता बोलाउन प्रदेश कमिटीलाई निर्देशन दिएका थिए ।
केन्द्रको निर्देशनमा प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै फिर्ता नभएमा सांसद पद नरहने गरी कारबाहीको चेतावनी दिएका छन् । पार्टी निर्णय विपरीत मन्त्रीको शपथ लिएको भन्दै फिर्ता बोलाइएको हो ।
शपथग्रहण गरेकोमा पार्टीले चारै जनालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ । स्पष्टीकरण चित्त नबुझे कारबाहीको चेतावनी पार्टीले दिएको छ ।नेपालपाना


