४ मंसिर २०८३, बिहीबार

ट्रम्पले हमासलाई “असहयोगी” भन्दै अमेरिकी वार्ताकारलाई बोलाए फिर्ता

एसीपी संवाददाता

११ श्रावण २०८२, शनिबार १४:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा हमास विरुद्धको “काम सक्न” सैन्य कारबाहीलाई तीव्र पार्न निर्देशन दिएका छन् ।

हालैसम्म युद्धविराम वार्ता सफल हुनेमा आशावादी देखिएका ट्रम्पले हमासलाई “असहयोगी” भन्दै अमेरिकी वार्ताकारलाई वार्ताबाट फिर्ता बोलाएपछि उनले यस्तो भनेका हुन् ।

सीएनएनकाअनुसार स्कटल्यान्ड जानुअघि पत्रकारसँग ट्रम्पले भने, “उनीहरू (हमास) मर्न चाहन्छन् जस्तो देखिन्छ र यो निकै नराम्रो हो । अब यो अन्त्य गर्ने बेला आएको छ ।”

ट्रम्पको यो अभिव्यक्तिले मानवता संकट गहिरिँदै गइरहेको गाजामा इजरायली सैन्य कदमलाई अझ आक्रामक बनाउने संकेत दिएको हो । उनले थपे, “इजराइलले छुटकारा पाउनका लागि उनीहरु(हमास)को सखाप पार्नुपर्नेछ ।”

अमेरिकाले युद्धविराम वार्ता रोक्ने निर्णय गरेसँगै दोहामा भइरहेको वार्तामा हलचल उत्पन्न भएको छ । ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफले “वैकल्पिक उपायहरू” खोज्ने बताएका छन् भने अमेरिकी अधिकारीहरूले यो रणनीतिक दबाबको रूपमा व्याख्या गरेका छन् ।

यद्यपि, इजिप्ट र कतारले वार्ता प्रक्रिया जारी रहने बताएका छन् । इजरायली एक उच्च अधिकारीले पनि वार्ता “पूर्ण रूपमा विफल नभएको” भन्दै वार्ता पुनः सुरु हुने सम्भावना खुला रहेको जनाएका छन् ।

यसबीच, गाजामा भोकमरीबाट ग्रस्त बालबालिकाका तस्वीरहरू देखाउँदै ट्युनिसियाली राष्ट्रपति कायस सईदले ट्रम्प प्रशासनलाई चेतावनी दिएका छन्, “यो सम्पूर्ण मानवतामाथिको अपराध हो ।” तर, ट्रम्पले सहायता वितरणमा बाधा हमासले सृजना गरिरहेको आरोप लगाएका छन् ।

फ्रान्सले आगामी सेप्टेम्बरमा राष्ट्रसंघ महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ । तर, ट्रम्पले फ्रेन्च राष्ट्रपति म्याक्रोनको निर्णयलाई “भार नभएको बयान” भन्दै खारेज गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x