नेपालगञ्जमा सञ्चालनमा आयो ‘नेपालगञ्ज दोहोरी साँझ’, लोकसंगीत र स्वादिष्ट परिकारको एउटै गन्तव्य
दिनेश ठाकुर नेपालगञ्ज, २९ कार्तिक — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित ‘नेपालगञ्ज दोहोरी साँझ’ सञ्चालनमा आएको छ। भाटभटेनी सुपरमार्केट अगाडि रहेको उक्त दोहोरी साँझ तिहार तथा छठ पर्वलगत्तै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
नेपाली मौलिक लोकसंस्कृति, लोकगीत तथा दोहोरी संगीतको संरक्षण र प्रवर्द्धन गर्नुका साथै ग्राहक तथा पाहुनालाई भरपूर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दोहोरी साँझ सञ्चालनमा ल्याइएको सञ्चालक रत्न बाठाले जानकारी दिएका छन्।
अन्य दोहोरी साँझभन्दा फरक पहिचान स्थापित गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यस दोहोरी साँझमा सांगीतिक मनोरञ्जनसँगै स्वादिष्ट खानाका विभिन्न परिकारलाई समेत विशेष प्राथमिकता दिइएको छ। यहाँ आउने पाहुनाले विभिन्न परिकारको स्वाद लिनुका साथै प्रत्यक्ष दोहोरी गीतसंगीत र सांगीतिक प्रस्तुतिमा रमाउन पाउने व्यवस्था गरिएको सञ्चालक बाठाले बताए।दोहोरी गीतसंगीत, स्वादिष्ट खाना र उत्कृष्ट आतिथ्यलाई एउटै स्थानमा उपलब्ध गराउने उद्देश्य रहेको बताउँदै सञ्चालक बाठाले स्थानीयस्तरमै गुणस्तरीय मनोरञ्जनको वातावरण सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गरे।
उनका अनुसार ‘नेपालगञ्ज दोहोरी साँझ’ नेपालगञ्जवासीसँगै विभिन्न स्थानबाट आउने पाहुनाका लागि पनि मनोरञ्जनको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा मनोरञ्जनका नयाँ अवसर सिर्जना गर्नुका साथै नेपाली मौलिक लोकसंस्कृतिको जगेर्ना र प्रवर्द्धनमा समेत यसले योगदान पुर्याउने विश्वास गरिएको छ। दोहोरी साँझ सञ्चालनमा आएसँगै नेपालगञ्जको मनोरञ्जन, सांस्कृतिक तथा व्यावसायिक क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ।


