पश्चिमाहरूको आशीर्वादमा बनेको कार्की सरकार’ विरुद्ध तिहारपछि जनसंघर्षका कार्यक्रम घोषणा हुन्छ : विप्लव
नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई “विदेशी शक्तिले बनाइदिएको कठपुतली सरकार” भएको आरोप लगाएको छ।
असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुस्थित शिवगढीमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको “विशेष परिस्थितिको विशेष कार्यभार” सम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ले जानकारी दिए।
उनका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देखिएको विध्वंसका पछाडि “आन्तरिक र बाह्य दुई कारण” रहेकामा सरकारले त्यसलाई बुझ्न नसकेको बताएका छन्। विरहीले भने, “भ्रष्टाचारविरुद्ध उठेका शक्तिलाई बाइपास गर्दै विदेशी आशीर्वादमा बनेको निर्दलीय सरकार नै वर्तमान संकटको कारण हो।”
विप्लव नेकपाले संसद पुनर्जीवित गर्ने प्रयास भए अर्को आन्दोलन वा विद्रोह निम्तिने चेतावनी पनि दिएको छ। पार्टीको ठहर अनुसार असफल संसदलाई पुनःजाग्रत गर्नुले देशलाई फेरि अराजक दिशातर्फ लैजानेछ। त्यसको विकल्पका रूपमा विप्लव समूहले “देशभक्त, वामपन्थी र प्रगतिशील” शक्तिहरूको सहभागितासहित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग राखेको छ।
बैठकले “नयाँ कम्युनिस्ट केन्द्र” निर्माण गर्ने निर्णय पनि गरेको छ। यो केन्द्र भ्रष्टाचारमा नमुछिएका राजनीतिक व्यक्तिको नेतृत्वमा गठन गरिने उल्लेख गर्दै पार्टीले माओवादी केन्द्र, एकीकृत समाजवादी र महेन्द्र यादवको पार्टीसँग सम्भावित एकताको ढोका खुला रहेको जनाएको छ।
विप्लव समूहले तिहारपछि जनसंघर्षका कार्यक्रम घोषणा गर्ने तयारीसमेत गरेको छ। स्थायी समिति बैठकले आगामी आन्दोलनका कार्यक्रमहरू टुंग्याउने निर्णय गरेको छ।
पार्टीले निष्कर्ष निकालेको छ— “विदेशी हस्तक्षेप र आन्तरिक भ्रष्टाचारको मिलेजुले कारणले देश असफल संसद, दलदल र अराजक व्यवस्थातर्फ धकेलिँदै गएको छ, त्यसको अन्त्य गर्न जनपक्षीय जनप्रतिनिधि छनोटमार्फत नयाँ संविधान आवश्यक छ।” हिमालपत्रीका



