सन् २०२५ को जूनसम्म आइपुग्दा पाकिस्तानमा दर्जनौं नयाँ पोलियो केसहरू पुष्टि भइसकेका छन्—जसमा धेरैजसो संक्रमित बालबालिका आंशिक वा खोप नलिएका हुन्। यो संक्रमण विशेषगरी आदिवासी क्षेत्र र शहरी झुपडी बस्तीहरूमा केन्द्रित देखिन्छ, जहाँ सरकारी उपस्थिति कमजोर, पूर्वाधार नाजुक र जनताको अविश्वास चरममा छ। यो पुनरुत्थानले केवल स्वास्थ्य संकट मात्र होइन, पाकिस्तानको अन्तर्राष्ट्रिय छविमा पनि गम्भीर धक्का पुर्याएको छ।
पोलियो निर्मूलनमा सबैभन्दा कडा चुनौती हिंसा बनेको छ। विशेषगरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कट्टर समूहहरूले पोलियो अभियानलाई “पश्चिमी साजिश” वा जासुसीको संज्ञा दिँदै स्वास्थ्यकर्मीहरूमाथि प्रहार गरिरहेका छन्। मे महिनामै उत्तर वजीरिस्तानमा तीन जना पोलियो कार्यकर्ता मारिए, जुन पछिल्लो पाँच महिनामा सातौं हमला थियो। प्रहरीको सुरक्षा हुँदाहुँदै खोप टोलीहरू धम्की, घेराबन्दी र आक्रमणको शिकार बनिरहेका छन्। कतिपय क्षेत्र त यस्ता छन्, जहाँ स्वास्थ्यकर्मी जानै सक्दैनन्—हजारौं बालबालिका खोपबिना छुटिरहेका छन्।
पोलियो भाइरसभन्दा बढी फैलिएको चीज भनेको गलत सूचना हो। समाजिक सञ्जालमा पोलियो खोप बाँझोपन ल्याउँछ, मृत्युको कारण बन्न सक्छ भन्ने झुटा सन्देशहरू झन् तीव्र गतिमा फैलिरहेका छन्। काबुलदेखि कराँचीसम्म, साना गाउँदेखि ठूला शहरसम्म, स्वास्थ्यकर्मीहरू खोप दिन जाँदा ढोका बन्द गरिन्छ, बालबालिका लुकाइन्छ, झुटा अभिलेख देखाइन्छ।
धार्मिक विद्वान्हरूले मिथ हटाउन प्रयास गरे पनि, विशेषगरी पारंपरिक पृष्ठभूमि भएका पश्तुन समुदायमा गहिरो अविश्वास कायम छ। केही परिवार त तिनले पानी, शिक्षा, वा बिजुलीको अभावप्रति आक्रोश व्यक्त गर्न ‘पोलियो’ खोप अस्वीकार गर्ने माध्यम बनाएका छन्।
२५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको अभियान अहिले थकान, उदासीनता र समन्वयहीनताको चपेटामा परेको छ। विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, बिल गेट्स फाउण्डेशनजस्ता साझेदारहरूको लगानी कायमै भए पनि, पाकिस्तानको सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर र विखण्डन भएको छ। संघीय र प्रान्तीय सरकारबीचको नीति समन्वय झनै खस्किएको छ।
सामान्य खोप कार्यक्रम समेत बन्द हुने अवस्थासम्म पुगेका छन्। धेरै खोप कार्यकर्ता, विशेषगरी महिला स्वास्थ्यकर्मीहरू महिनौंदेखि पारिश्रमिक नपाएर जोखिममा काम गरिरहेका छन्। कति त अभियानै छाडेर गएका छन्—हिंसा, यौन उत्पीडन र प्रशासनिक उपेक्षाको कारण।
पाकिस्तानमा पोलियोको पुनरागमन केवल राष्ट्रिय समस्या होइन—यो विश्वव्यापी स्वास्थ्य संकटको चेतावनी हो। WHO ले पटक–पटक चेतावनी दिँदै आएको छ—”अब लापरवाही गर्नै मिल्दैन, होइन भने दशकौंको मेहनत र उपलब्धि समाप्त हुनेछ।”
पहिले नै केही मुलुकले पाकिस्तानबाट आउने यात्रुहरूमाथि कडाइ गर्दै पोलियो खोप प्रमाणपत्र अनिवार्य गरेका छन्। यसले पाकिस्तानको कूटनीतिक तथा आर्थिक क्षेत्रमा थप दबाब सिर्जना गरिरहेको छ।
पोलियो पाकिस्तानमा मात्र होइन, अफगानिस्तानमा पनि अवशेष रूपमा बाँकी छ। तर पाकिस्तानको सन्दर्भमा पोलियो अब केवल रोग होइन, शासन असफलता, चरमपन्थी सोचको गहिरो प्रभाव, र राज्य र नागरिकबीचको असहज सम्बन्धको प्रतिबिम्ब बनेको छ।
जब विश्व डिजिटल स्वास्थ्य, कृत्रिम बौद्धिकता र आगामी महामारीका तयारीमा जुटिरहेको छ, पाकिस्तान अझै पनि पोलियोविरुद्धको अधूरो युद्धमा अल्झिएको छ। यो केवल एक रोगको लडाइँ होइन—यो सत्य, विज्ञान र जनविश्वासको युद्ध हो, जहाँ हरेक असफलता सिङ्गो प्रणालीको बेपर्दा बनाइरहेको छ। nepalpana


