पाकिस्तानमा भएको मन्दिर तोडफोड विषयमा नेपालका हिन्दु संघसंस्थाको चासो; पाकिस्तानी प्रमलाई ज्ञापन-पत्र
हिन्दु मन्दिर तोडफोड प्रकरण पाकिस्तानलाई निकै महङ्गो पर्ने संकेत, हिन्दुवादी संघसंस्था उत्रिए मैदानमा !
पाकिस्तानमा हिन्दु मन्दिरमाथि भएको तोडफोडबारे प्रधानमन्त्री इमरान खानको ध्यानाकर्षण गराइएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आक्रमण घटनाप्रति नेपालका हिन्दु संघसंस्थाको चासो र चिन्ता रहेको भन्दै कारवाही अघि बढाउन विदेश मन्त्रालयमा जानकारी गराएको हो ।
नेपालका हिन्दु संघसंस्थाको उक्त घटनाप्रति चासो रहेको भन्दै राजदूतावासले रिपोर्ट पठाउँदै कारवाहीका लागि विदेश मन्त्रालयमा जानकारी गराइएको हो । नेपाल विश्व हिन्दु महासंघ, सनातन धर्म महासंघले नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहमार्फत पाकिस्तानी प्रधानमन्त्रीका नाममा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
नेपाल र भारतका हिन्दुहरुको एकता देखेर डराएको राजदूतावासले उक्त पत्र इस्लामावादस्थित विदेश मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय पठाएको हो । राजदूतावासका काउन्सिलर अदनान जावेद खानले पाकिस्तानमा अल्पसंख्यकको संरक्षणका लागि ज्ञापनपत्र भन्दै इस्लामावादस्थित विदेश मन्त्रालयमा रिपोर्ट पठाएर जानकारी गराएका हुन् ।
‘सनातन धर्म महासंघ नेपाल र नेपाल विश्व हिन्दू महासंघका पदाधिकारीले अलग(अलग हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । रहीम यार खानमा हिन्दू मन्दिरमाथि भएको हमलामा आफ्नो चिन्ता अवगत गराउँदै पाकिस्तानका प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका छन् । उपरोक्त मन्त्रालयको जानकारी र उचित कारवाहीका लागि यो पठाइएको छ,’ रिपोर्टमा भनिएको छ ।
केही दिनअघि पञ्जाब प्रान्तको रहीम यार खान जिल्लाको भोंग गाउँमा चरमपन्थीहरुको भीडले प्रहरीकै उपस्थितिमा हिन्दु मन्दिरमा हमला गरि तोडफोड गरेका थिए । मन्दिरमात्र तोडफोड नभएर मूर्तिहरुको पनि अपमान गरिएको र देवीदेवताहरुको पोस्टर अतिवादी तत्वहरुद्वारा जलाइएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।
विश्व हिन्दू महासंघका प्रवक्ता राजन अधिकारीले विज्ञप्ति जारी गरेर पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका थिए । विज्ञप्तिमा हिन्दुहरुको धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ । हिन्दुहरुको माथिको आक्रमण बन्द गर्न, दोषीलाई कारवाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
हिन्दुहरुको आस्थामाथिको आक्रमण रोक्न कडा कानुन बनाउन पनि माग गरिएको छ । महासंघले पाकिस्तानमा भएको घटनामा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकर्षण गराएको थियो । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् र अन्य विश्व समुदायलाई अल्पसंख्यक हिन्दु समुदायको रक्षाका लागि बोल्न र पहल गर्न आग्रह गरिएको छ । अन्लाईनमार्ग


