पोखरामा काङ्ग्रेसको सरकार बनाउन पहल शुरु
दीपक परियार
पोखरा — कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरिएको छ ।
प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत भएको छ ।
त्यसअघि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । ‘सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि’ भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला ‘ भन्ने जवाफ दिएकी थिइन् ।
मुख्यमन्त्री नियुक्तिको निर्णय भने शनिबारमात्रै हुने भएको छ । प्रदेश प्रमुख पौडेलले यसअघि नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न शनिबार ३ बजेसम्मको समय सीमा तोकेकी थिइन् । त्यतिञ्जेल अध्ययन गरी निर्णय दिने उनले बताएकी छन् ।
कांग्रेस सचेतक मणिभद्र शर्माले नेपालीलाई मुख्यमन्त्री हुनबाट केही गरी नरोकिने प्रतिक्रिया दिए । ईकान्तिपुर


