२९ माघ २०८२, बुधबार

भारत–नेपाल सीमाबाट एसएसबीद्वारा श्रीलंकाली नागरिक पक्राउ, अवैध रूपमा भारत प्रवेश गर्ने प्रयास विफल

एसीपी संवाददाता

२७ पुष २०८२, आईतवार ११:०३ मा प्रकाशित

भारत–नेपाल सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले बिना वैध भिसा अवैध रूपमा नेपाल हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
४७औँ वाहिनी सशस्त्र सीमा बल, रक्सौलका कमाण्डेन्ट सञ्जय पाण्डेयको निर्देशन तथा प्राप्त गोप्य सूचनाका आधारमा, वाहिनी कार्यक्षेत्र अन्तर्गत बोर्डर पिलर नम्बर ३९०/३३ नजिक भारत–नेपाल मैत्री पुलमा खटिएको ४७औँ वाहिनीको बोर्डर इन्टरएक्सन टिमले एक भारतीय नागरिकसहित एक श्रीलंकाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने श्रीलंकाली नागरिकको नाम हनीफ काची मुहम्मद (पिता– काची मुहम्मद) रहेको एसएसबीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनीसँग भारत प्रवेशका लागि आवश्यक वैध भिसा नरहेको पुष्टि भएपछि थप कानुनी कारबाहीका लागि हरैया प्रहरी चौकीलाई जिम्मा लगाइएको छ।
एसएसबीका अनुसार पक्राउ परेका श्रीलंकाली नागरिकको साथबाट भारतीय तथा नेपाली मुद्रा, केही अन्य विदेशी मुद्रा, क्यामेरा र मोबाइल फोन समेत बरामद गरिएको छ। अनुसन्धानका क्रममा उनी जनवरी ५ मा उज्बेकिस्तानबाट पर्यटक भिसा लिएर नेपाल प्रवेश गरेको र त्यसपछि नेपाल हुँदै भारतको केरल राज्य जाने प्रयास गरिरहेको खुल्न आएको छ।
पक्राउ परेका व्यक्तिसँग रहेका भारतीय नागरिकको पहिचान केरल निवासी रौशिद कनोतका रूपमा भएको छ। जानकारी अनुसार, उनीहरूबीच वर्षौँअघि कतारमा काम गर्ने क्रममा भेट भई आपसी मित्रता भएको थियो। श्रीलंकाली नागरिक नेपाल आएपछि भारतीय नागरिकले उनलाई रिसिभ गरी केरल लैजान खोज्दा सीमा क्षेत्रमा एसएसबीको जाँचका क्रममा पक्राउ परेको जनाइएको छ।
४७औँ वाहिनीका असिस्टेन्ट कमाण्डेन्ट उत्तम घोषका अनुसार सोधपुछका क्रममा श्रीलंकाली नागरिक हनीफ काची मुहम्मदले केरलमा रहेका आफ्ना साथीको निमन्त्रणामा घुम्न जान लागेको बयान दिएका छन्।
उल्लेखनीय छ कि यसअघि पनि गत डिसेम्बर ३१ मा भारत–नेपाल सीमा क्षेत्रबाट एसएसबीले तीन जना संदिग्ध बंगलादेशी नागरिकलाई पक्राउ गरी हरैया प्रहरी चौकीलाई बुझाएको थियो। सीमा क्षेत्रमा बढ्दो सतर्कताका कारण अवैध आवतजावत तथा शंकास्पद गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको एसएसबीले जनाएको छ। मिथिलाटाइम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x