३२ असार २०८३, बिहीबार

भारत सरकारको सहयोगमा इरानबाट ११ जना नेपाली सोमबार उद्धार

एसीपी संवाददाता

९ असार २०८२, सोमबार १०:१० मा प्रकाशित

भारत सरकारको सहयोगमा इरानबाट ११ जना नेपाली सोमबार फर्किने भएका छन् । नेपालको अनुरोधपछि भारतले इरानमा रहेका नेपालीलाई आफ्ना नागरिकसँगै चार्टर जहाजबाट उद्धार गर्न लागेको हो । सुरुमा १० जना मात्रै आउने तयारीमा रहे पनि परराष्ट्रका अधिकारीको अनुरोधमा थप एकजना पनि स्वदेश फर्किन तयार भएका छन् ।

‘११ जना नेपाली भारत सरकार (तेहरानस्थित भारतीय दूतावास)को समन्वयमा सोमबार फर्किनुहुन्छ भन्ने हामीलाई विश्वास छ,’ इरान र इजरायलमा नेपालीको उद्धारका लागि समन्वय गरिरहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘जम्मा १६ मध्ये १० जना आउन तयार हुनुभएको थियो, मेरै अनुरोधपछि थप एकजना पनि स्वदेश आउन तयार हुनुभयो । जेलमा रहेका पाँचजनाका लागि पनि स्वदेश फर्किन डकुमेन्ट तयार भइसकेको छ ।’

प्रवक्ता क्षेत्रीका अनुसार ११ जना नेपाली इरानको समयअनुसार आइतबार मध्यरात (नेपाली समयअनुसार सोमबार बिहान)सम्म इरानको मसाद सहर पुग्नेछन् र त्यहाँबाट भारतीय दूतावासको समन्वयमा भारतीय नागरिकसँगै फर्किनेछन् । अध्यागमन कानुनअनुसार इरानको जेलमा रहेका पाँचजना नेपालीलाई पनि स्वदेश फर्काउने तयारी छ । ‘उहाँहरूलाई उद्धारका लागि पनि हामीले बेग्लै तयारी र गृहकार्य गरिरहेका छौँ,’ क्षेत्रीले भने ।

 इजरायलबाट फर्किन ३५ को निवेदन, अधिकांश नफर्किने
इजरायलमा रहेका नेपालीमध्ये आइतबारसम्म नेपाली दूतावासको विद्युतीय दर्ता फारममा ८४५ जनाले नाम दर्ता गराएका छन् । परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार उनीहरूमध्ये जम्मा ३५ जनाले मात्रै स्वदेश फर्किने इच्छा जनाएका छन् । ‘दूतावासको फारममा दर्ता हुनुभएकामध्ये अधिकांशले स्वदेश फर्किने चाहना राख्नुभएको छैन, उहाँहरूले सुरक्षित छौँ भन्नुभएको छ,’ क्षेत्रीले भने, ‘यद्यपि, इजरायलबाट उद्धार गर्नुपर्ने अवस्था भएमा गर्नुपर्ने तयारीबारे गृहकार्य गरिरहेका छौँ । श्रम र नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिरहेका छौँ ।’ परराष्ट्रमा गठित ‘र्‍यापिड रेस्पोन्स टिम’ले यसमा काम गरिरहेको छ । nayapatrika

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x