८ कार्तिक २०८१, बिहीबार

भ्रष्टाचार र अनियमितता बारे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन , छानबिन हुँदै

एसीपी संवाददाता

१८ असार २०८१, सोमबार १०:५३ मा प्रकाशित

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि संसदीय उपसमिति गठन गरेको हो । यो समितिले विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितता लगायत् अन्य पक्षको पनि छानबिन गरि रायसहितको प्रतिवेदन पेश गर्ने छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको छ ।
अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न उपसमितिलाई समय दिइएको छ । अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर प्रस्ताव सुरु भएदेखि गुरुयोजना, लागत, ठेक्का, निर्माण र अहिलेसम्मको सवै स्थितिको अध्ययन तथा छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।

यो अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको थियो । गौतमवुद्ध विमानस्थल निर्माणको काम विसं २०७१ माघ १ मा सुरु भई २०७४ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो कार्यतालिका संसोधन गरी निर्माण सम्पन्न अवधि २०७८ पुससम्म धकेलिएको थियो ।

२०७९ जेठदेखि विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत पनि बढ्यो । बढेको लागत मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । यति ठूलो धनराशी खर्चेर विमानस्थल निर्माण गरिए पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । महालेखा परीक्षक कार्यालयले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न वायु सेवा कम्पनी र विभिन्न देशसँग समन्वय गर्न निर्देशन दिएको छ ।

०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘बुद्धको जन्मथलो लुम्बिनी प्रवेश गर्ने मूलढोकामै रहेको’ तत्कालीन आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गरेका थिए । भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी, निर्माण सामाग्रीको अभाव, स्थानीयका मागसँग जुध्दै योजना सम्पन्न हुन करीब नौ वर्ष लाग्यो ।

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । १२ सय बिघामा फैलिएको विमानस्थलमा त्यही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित उडान भरेको थियो । २०८१ वैशाखसम्म जजिराले भैरहवामा १ सय १० वटा उडान गर्यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान मात्रै गरेर पुनः काठमाडौंमै फर्किएको थियो ।
गत वर्ष जेठदेखि सातामा एक दिन (मंगलबार) नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आउने उडान भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउँदै आएको छ  । गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा ठूलो अनियमितता भएको लेखा समितिको आशंका छ । यसैले पनि छानविन गर्न लागिएको हो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका भट्टराई छानविन समितिको संयोजका बनेका हुन् । समितिले तत्काल काम थाल्ने र यथार्थता बाहिर ल्याउने भट्टराईले बताएका छन् । लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समेत छानविन गर्दैछ । सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x