राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध – राजेन्द्र महतो
काठमाडौँ । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् ।
उपप्रधानमन्त्रीको सपथ खाएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्नेक्रममा बहुल राष्टिन्य राज्य स्थापनाका लागि मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएर विवादमा परेका महतोले हिजो मध्यरातमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको प्रष्टिकरण दिएका हुन् । साथै उनले राष्ट्रिय अखण्डताप्रति कुनै भ्रम नराख्न पनि आग्रह गरेका छन् ।
उनले संविधानप्रति रहेका असन्तुष्टिहरु संविधान संशोधनका लागि गठित कार्यदलमा आफ्नो पार्टीको धारणा राख्ने उल्लेख गरेका छन् ।
‘यो संविधानमा हाम्रा असन्तुष्टिहरु सम्बोधन गर्न गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौं । म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु । यस सम्बन्धमा अरु कसैलाई अन्यथा भ्रम नरहोस् भन्न चाहन्छु,’ उनले भने ।
Rajendra Mahato.jpg
उपप्रधानमन्त्री महतोले संविधानको व्यवस्था अनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधता रहेको मुलुक भएकाले सबै जातजाति, वर्ग, समुदायको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताएका छन ।
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


