१२ मंसिर २०८३, शुक्रबार

लुम्बिनीको बदला लिने तयारीमा उपेन्द्र यादव प्रदेश २ मा चल खेल शुरु

एसीपी संवाददाता

१२ बैशाख २०७८, आईतवार ०१:०८ मा प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा पर्दा जसपा निर्णायक बन्यो ।

माओवादीले अवसर पाइरहेको लुम्बिनीमा जसपाबाट ४ जना मन्त्री बने । संघमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले माओवादी केन्द्र र कांग्रेससँग गठबन्धन बनाउन प्रयत्न गरिरहेका बेला पूर्वसमाजवादीका तीन सांसद र पूर्व राजपाका एक सांसदले एमाले नेता पोखरेको सत्ता जोगाउनुका साथै साझेदारी गर्दै सरकारमा पनि सहभागी भए ।

लुम्बिनीमा आफ्नै समूहका सांसदले झट्का दिएपछि उपेन्द्र र बाबुरामले प्रदेश कमिटी अध्यक्ष र प्रदेश संसदीय दलका नेतामार्फत कारवाही चेतावनी दिँदै सरकारबाट फिर्ता बोलाए । तर ६ जनाको संसदीय दलका बहुमत ४ सदस्य नै मन्त्री बनेपछि त्यो कारवाहीको धम्की काम लागेन । केन्द्रबाट प्रथम अध्यक्ष महन्थ ठाकुरको शुभेच्छा पाएका ४ जना सांसद सरकारबाट फिर्ता भएनन् । लुम्बिनीमा उपेन्द्र र बाबुराम नाकाम रहे । जसपाको गठबन्धन एमालेसँग भयो । महन्थ ठाकुर निर्णायक रहे । ठाकुरले केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमाले सरकारसँग मधेसका मुद्दा सम्बोधनका लागि वार्ता गरिरहेका बेला, मुद्दा सम्बोधन प्रक्रियामा अघि बढिसकेका बेला प्रदेशमा एमालेसँग गठबन्धन बन्न बल पुग्यो ।

लुम्बिनीमा भोगेको लज्जास्पद असफलताले उपेन्द्र र बाबुरामलाई यति आक्रोशित बनाएको छ कि यसको बदला प्रदेश नम्बर २ मा लिने निर्णय गरेका छन् । यसका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मोहरा बनाउँदै परिचालन गरेका छन् । महन्थ ठाकुरलाई कमजोर देखाउन र पार्टीमा आफ्नो शक्ति प्रदर्शन गर्न उपेन्द्रले लालबाबुलाई मोहरा बनाएका हुन् ।

उच्च स्रोतका अनुसार उपेन्द्रले महन्थ ठाकुर निकट पूर्व राजपाका मन्त्रीहरु जितेन्द्र सोनल, नवल किशोर साह, डा. डिम्पल कुमारी झा, सुरेश मण्डल र अभिराम शर्मालाई तत्काल बर्खास्त गरेर नयाँ सरकारको तयारीमा लाग्न राउतलाई निर्देशन दिएका छन् । यसमा पूर्वराजपाका महेन्द्रराय यादवले खेलिरहेको बुझिएको छ । महेन्द्रराय निकट रहेका मन्त्री रामनरेश राय र प्रदेश सभा सदस्य रानी शर्मा तिवारी पनि आर्थिक र मन्त्री पदको प्रलोभनमा पूर्व राजपाबिरुद्धको षडयन्त्रमा संलग्न भएका छन् ।

मुख्यमन्त्री राउतले रायलाई र तिवारीलाई नगद २/२ करोड र रायलाई उपमुख्यमन्त्री सहित आन्तरिक मामिला र तिवारीलाई समाजिक मन्त्रालय दिने आश्वासन दिएको बुझिएको छ ।

यसैगरी काँग्रेस, माओवादी र पूर्व सपाको सरकार बनाउन उपेन्द्र यादवको निर्देशन अनुसार मुख्यमन्त्री राउतले ठेकेदार र उद्योगपतिहरुबाट ९३ करोड रुपैयाँ उठाएर अघि बढेका छन् । राउतले काँग्रेस, माओवादीका नेताहरु र पूर्वराजपाका फ्लोर क्रस गर्न सक्ने केही प्रदेशसभा सदस्यहरुसँग सिधा सम्पर्क गर्दै भेटघाट गरिरहेका छन् ।

प्रदेश २ मा सानादेखि ठूला नेताहरुमा करिव १३ जना मुख्यमन्त्रीका दाबेदार रहेका छन् । तर, प्रदेशमा नयाँ सरकार बनेर पनि मुख्यमन्त्री राउतलाई नै निरन्तरता दिँदा पूर्वसमाजवादीकै तर्फबाट मन्त्री बनेका अर्थमन्त्री विजय कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहा लगायत १२ प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर उपेन्द्र यादवलाई चुनौती दिने तयारी पनि अर्कोतिर छ । जसले मुख्यमन्त्री राउतलाई झड्का पनि दिएको छ ।

अर्कोतिर काँग्रेस उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा तीन दलीय गठबन्धनबाट बनेको सरकारमा दिनदिनै लफडा हुने, सरकारले काम गर्न नसक्ने, नियुक्तिमा भागबण्डाको लफडाले प्रदेशमा नकारात्मक सन्देश प्रवाह हुने र काँग्रेसको पक्षमा बन्दै गइरहेको माहोल विपरीत हुन सक्ने भन्दै यो अप्राकृतिक गठबन्धन विरोधमा उत्रिएका छन् । उनी प्रदेशमा नयाँ गठबन्धनको विपक्षमा छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x