१२ मंसिर २०८३, शुक्रबार

सत्ताका लागि छट्पटिएका उपेन्द्र-बाबुरामको घिनलाग्दो कर्तुतको खुलासा

एसीपी संवाददाता

२४ बैशाख २०७८, शुक्रबार १०:४४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीमा अहिले अन्तरसंघर्ष बढ्दो छ । पूर्वराजपा समूहको नेतृत्व गरिरहेका महन्थ ठाकुर र पूर्वसमाजवादीको नेतृत्व गरिरहेका उपेन्द्र यादव-बाबुराम भट्टराईबिच अलग अलग सत्ता सहकार्य तथा मधेस मुद्दाका लागि अन्तरद्वन्द चलिरहेको छ । दुबै पक्षले हस्ताक्षर संकलनदेखि कारवाही सम्म गरिरहेका छन् । अब हुँदा हुँदा एकाअर्का विरुद्ध अफवाह, प्रचारबाजीमा पनि उत्रिएका छन् । प्रचारबाजीमा अगाडि देखिएका छन् उपेन्द्र र बाबुराम । यसका लागि उनीहरुले आफू निकट मिडिया नै प्रयोग गरेका छन् ।

हालै बाबुरामका एक जना पूर्व प्रेस सल्लाहकारले ‘सम्धीलाई मन्त्री बनाउन खोज्दा जसपामा एक्लिँदैछन् महन्थ ठाकुर’ भनेर लेखे । जबकी महन्थका सम्धी नाता पर्ने उमाकान्त झा सांसद नै छैनन् । दोस्रो कुरा महन्थले झालाई मन्त्री बनाउने भनेर कतै कुरा गरेका छैनन् । उनी मधेसका मुख्य मागहरु रेशम चौधरी लगायत झुटा मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन सम्बोधन नभएसम्म सरकारमा नजाने अडानमा छन् । मुद्दा सम्बोधन हुँदै जाँदा सरकारलाई समर्थनसम्म गर्न सकिने तर प्रत्यक्ष सरकारमा नजाने लाइनमा ठाकुर छन् । यस्तोमा सम्धीलाई मन्त्री बनाउने भन्ने कुरा अफवाहमात्रै हो । बालुवाटार निकट स्रोतले ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले पटक पटक आग्रह गरे पनि नमानेको जानकारी दिएको छ । ‘सरकारमा सहभागी हुनै नमानेका ठाकुरले सम्धीलाई मन्त्री बनाउने कुरा गरयो भन्नु हाँस्यास्पद हो,’ बालुवाटारमा एक अधिकारीले भने ।

महन्थ ठाकुरलाई बदनाम गर्ने यो त एक उदाहरण मात्रै हो । ओलीले सत्ताबाट अपमानजनक रुपमा निकालेको रिस फेर्ने उपेन्द्रको इगो र ओलीले भाउ नदिएपछि चिढिएका बाबुरामको बदला लिने दाउ अन्तर्गत ओलीसँग वार्ता गरिरहेका महन्थलाई डाउन गर्ने प्रपञ्च र ओलीलाई सत्ताबाट ढाल्न झुटो प्रचारबाजीको सहारा लिइएको छ ।

ओलीलाई ढाल्दा दुबैको बदला पुरा हुने र कांग्रेस-माओवादीसँग सहकार्य गरेर नयाँ सरकार बनाइ त्यसमा सहभागी हुने दाउमा उपेन्द्र र बाबुराम छन् । त्यसअनुसार दुबैले कहिले आफू बहुमतमा रहेको, महन्थ अल्पमतमा परेको, कहिले राजेन्द्र महतोले नै महन्थको साथ छोडेको, कहिले प्रतिगामी भनेर, कहिले माग पूरा किन भएन, यति सांसदले छोडेको, सांसदको घरमा पैसा बोकेर गएको भनेर प्रचार गर्ने र महन्थ पक्षलाई कमजोर बनाउने, हतोत्साहित पार्ने प्रयासमा बाबुराम र उपेन्द्र लागेका छन् । प्रचार प्रसारमा सबैभन्दा बढी बाबुरामको सचिवालय प्रयोग भएको छ । तर वास्तविकता यस्ता प्रचारले धेरै दिन ओझेलमा पर्नेछैन ।

जहाँसम्म उपेन्द्रको कुरा गर्ने हो भने व्यवहारले नै पुष्टि गर्छ उनी सत्ताका लागि जे पनि गर्छन् । आजसम्म मधेस मुद्दाका नाममा कतिपटक मन्त्री भए । उपप्रधानमन्त्री भए । सत्तामा टाँसिरहन कतिसम्म अपमान सके । कुनै परवाह गरेनन् । उनै उपेन्द्रले अहिले सन्त नेता महन्थलाई सत्ताका लागि ओलीसँग नजिकिएको भन्नु आफैमा हास्यास्पद हुन्छ । किनभने मधेस मुद्दा सम्बोधन भएको उपेन्द्रलाई सैह्य छैन । सम्बोधन भयो भने एजेण्डा नै सकिन्छ । सत्तामा जाने सिँढी भाचिन्छ । अर्कोतिर मुद्दा सम्बोधन भएमा महन्थ मधेसमा हिरो बन्ने डर पनि उपेन्द्रलाई छ । किनकी उनी आफूलाई मधेसको मसिहा ठान्छन् ।

बरु महन्थलाई असफल पार्न उपेन्द्रले पहिलेजस्तै जातिवादको कार्ड फ्याकेका छन् । त्यसैले त पूर्वराजपाका महेन्द्रराय यादव पनि उपेन्द्रको प्रलोभनमा फसेका छन् । अर्कोतिर माओवादी गठबन्धन सरकारका लागि सांसदको संख्या पुर्याउन उपेन्द्र सांसदको घरघरमा पैसाको बिटो बोकेर हिँडेका छन् । नयाँ सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री हुने चर्चा छ । सत्तामा जानका लागि जे पनि गर्ने र सत्तामा पुगेपछि आफ्नै सांसदलाई वेवास्ता गर्ने बानीले पोहोरो झण्डै समाजवादी फुटिसकेको थियो । सांसद प्रदीप यादवलाई ६ महिनाका लागि कारवाही गरेपछि पार्टीमा उपेन्द्रप्रति धेरै नेताहरु रुष्ट बनेका थिए । इस्तियाक राई र रेणु यादव समेत असन्तुष्ट बनेका थिए । उनीहरुले अर्को पार्टी बनाउनेसम्म सोचिसकेका थिए । अहिले आएर तिनै सांसदहरुलाई सत्तामा जानका लागि हात जोडेर फकाएका छन् ।

त्यसो त उपेन्द्रले सार्वजनिक रुपमा कुनै पनि सरकारमा जाने भनेका छैनन । तर उपेन्द्र विगतजस्तै पहिला सरकार अनि मुद्दा सम्बोधनको लाइनमा छन् । त्यसैले त कांग्रेस-माओवादीसँग मिलेर नयाँ सरकार बनाउने र अनि मुद्दा अगाडि बढाउने भनेर बोल्दै आएका छन् । यसरी हेर्ने हो भने उपेन्द्रको प्रवृति नै सत्ता मात्रै छ । तिनले नै महन्थको निष्ठामाथि प्रश्न उठाएर प्रचारबाजी गर्नु सुहाउँदैन ।

यो बिचमा मात्रै उपेन्द्रले उपप्रधान तथा परराष्ट्रमन्त्री दिए जसपाको नेतृत्व गरेर सरकारमा आउने प्रस्ताव बालुवाटार पुर्मयाएका थिए । तर प्रधानमन्त्रीले अस्वीकार गरेपछि उपेन्द्र आक्रामक रुपमा ओलीलाई हटाउने र महन्थलाई पार्टीभित्र सिध्याउने रणनीतिमा अघि बढेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x