सुन तस्करी प्रकरणः जाँचबुझ आयोगको प्रतिवेदनमा कैफियत, सदस्यकै मुख्य अभियुक्तसँग सम्पर्क
आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तथ्य जाँच र परीक्षण नै नगरी आफूमाथि विभागीय कारबाहीको सिफारिस गरिएको उनको भनाइ छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत कुँवरलाई आयोगको प्रतिवेदनले विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरेपछि उनी प्रहरी प्रधान कार्यालयमा तानिएका थिए । त्यसपछि डीएसपी कुँवरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।
पर्दाफासलाई गृह स्रोतबाट प्राप्त निवेदनमा उनले सुन जाँचबुझ आयोगले गरेको सिफारिस र सो आधारमा हुन सक्ने आफूमाथिको अन्याय रोक्न तथा थप अनुसन्धान गरी न्याय दिलाइदिन माग गरेका छन् ।
आयोगले राजस्व अनुसन्धान विभागले जफत गरेको ६० किलो सुन, भेपमा लुकाइएको सुन प्रकरणमा छानबिन गरेको थियो । त्यसक्रममा तत्कालीन सीआईबीमा रहेका प्रहरी अधिकारीलाई आयोगले कारबाहीको सिफारिस गरेको थियो ।
प्रतिवेदनमा सुन तस्करी प्रकरणका प्रतिवादी जीवन चलाउनेबारे डीएसपी कुँवर जानकार रहे पनि माथिल्लो निकायमा यसबारे जानकारी नगराएको आरोप छ । उनी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने टोलीको नेतृत्वदायी भूमिकामा नभए पनि अनुसन्धान अधिकृतलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावित पार्ने कार्यमा रहेको आरोप पनि आयोगले लगाएको छ ।
तर, डीएसपी कुँवरले आफूले अनुसन्धान प्रभावित पारेको भन्ने कुनै तथ्ययुक्त प्रमाण नभएको, कृत्रिम च्याट संवाद खडा गरी आरोप लगाइएको, आरोपित चलाउनेसँग टेलिफोन सम्पर्क गरेको जस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आफ्नो बारेमा गलत सूचना दिनेलाई कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।
उनले अनुसन्धानमा सहयोग गरेको, चिनियाँ सुन तस्करहरु बस्ने र खानसक्ने सम्भावित स्थानहरु, तस्करीमा संलग्न हुन सक्ने मानिस र नेपालमा हुण्डी कारोबारीका सम्बन्धमा सूचना समेत सीआईबीमा मात्र नभई आयोगका अध्यक्ष आचार्य समेतलाई उपलब्ध गराई अनुसन्धानमा सहयोग गरेको उल्लेख गरेका छन् ।
आयोगकै पदाधिकारीमाथि तस्करसँग साँठगाँठको आरोप
जाँचबुझ आयोगको सदस्य रहेका प्रहरीका पूर्वएआईजी सहकुल थापामाथि सुन तस्करीमा संलग्नसँग पटकपटक सम्पर्कमा रहेको आरोपसमेत लागेको छ । यसअघि भएको ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी विमल पोद्दारसँग उनको कनेक्सन देखिएको हो ।
हाल सुन तस्करीमा क्रिप्टो करेन्सीमार्फत भुक्तानी गरेको आरोपमा प्रतिवादी बनाइएका पोद्दारसँग पूर्व एआईजी सहकुल थापाको सम्पर्क देखिएको हो ।
आयोगका सदस्यकै मुख्य आरोपीको सम्पर्क देखिएपछि प्रतिवेदन लेखनमा निर्दाेष प्रहरी अधिकृतलाई दोषी देखाउने चलखेल भएको गृह स्रोतको दाबी छ । आयोगको प्रतिवेदन निष्पक्ष नभएको यसअघि समेत चर्चा भइरहेको छ ।


