आयोगले सीआइबीले कतिपय अभियुक्तहरुको बयानको कागजात नै गायब पारेको र अभियुक्तहरुसंग रकम बार्गेनिङ गरेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । ६१ किलो सुन प्रकरणमा संलग्न रहेका जीवन चलाउनेसंग सीआइबी प्रमुख किरण बज्राचार्य स्वयंले रकम बार्गेनिङ गरेको दाबी आयोगले गरेको छ । आयोगले हाल मलेसियामा रहेका जीवन चलाउनेसंग ह्वाट्स एपबाट बयान लिँदा चलाउनेले सीआइबी प्रमुख बज्राचार्यले आफूसँग ठूलो रकम मागेको दाबी गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । सीआइबीले छानबिनमा प्रयोग गर्नुपर्ने प्राविधिक उपकरणहरु प्रयोग नगरेको पाइएको समेत प्रतिवेदनमा उल्लेख छ । आयोगले सीआइबीको अनुसन्धानमै गम्भीर लापरबाही भएको पनि औंल्याएको छ ।
४८५ पृष्ठ लामो, १३ परिच्छेद र ९ अनुसुची रहेको प्रतिवेदनले कारवाहीका लागि सिफारिस गरेका माथिल्लो तहका राजनीतिक ब्यक्तिमा माओवादी नेता एवं पुर्व सभामुख कृष्णबहादुर महरा छन् । यस्तै वाल्डो क्यासिनोका अकाउन्टेन्ट हङकङका नागरिक टेरेन्स, मन्जील श्रेष्ठ, अविनाश रावत, जिवन गुरुङ र सुुबु केसीलाई मुद्दा चलाउन प्रतिवेदनमा सिफारिस गरिएको छ । त्यसैगरी, सीआइबी प्रमुख किरण बज्राचाय्र्रसहित ब्यु्रोका एसपी सञ्जय सिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाइ्र्र बिभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।
यस्तै गृहमन्त्रालयका तत्कालिन सहसचिव झलकराम अधिकारीलाई बिभागिय कारबाही, बिमानस्थल भन्सारका तात्कालिन प्रमुख अरुण पौडेल, उपसचिवद्वय श्रीधर टण्डन र मुक्ति श्रेष्ठ, बिधि ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई पनि कारवाही गर्न सिफारिस गरिएको छ ।
आयोगको प्रतिवेदन अध्ययन गरेपछि गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको धन्दा यो भन्दा व्यापक हुनसक्ने भन्दै आयोगले सिफारिस गरेकाहरुलाई कारवाही शुरु गर्दै पुनः विस्तृत अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । आयोगले दोषी देखाएकाहरुलाई कारवाही गर्ने जिम्मेवारी भने प्रधानमन्त्री दाहालको काँधमा पुगेको छ । तर यो प्रकरणमा अरु पनि माथिल्लो तहका राजनीतिक व्यक्तिहरु तानिने खतरा उत्तिकै रहेको छ । कारवाही शुरु गर्दा राजनीतिक वृत्तमा आउनसक्ने हलचलको जोखिम मोल्न प्रधानमन्त्री दाहाल कत्तिको तयार हुनुहोला ? दाहालको अग्नि परीक्षा शुरु भएको छ । ईमेजखबर


