८ कार्तिक २०८१, बिहीबार

हैरान पार्नुभयो भनेर प्रचण्डजीलाई ठिक लगाउन खोजेकै हो’

एसीपी संवाददाता

२७ असार २०८१, बुधबार ०८:२१ मा प्रकाशित

राजनीतिका अनेकौँ उतारचढाव भोग्दै, झेल्दै अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्र मिश्र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज नगरे देश भड्खालोमा जाने निश्चितजस्तै देख्छन् । राप्रपाबाहेकका सबै दल र तिनका नेता प्रचण्डमार्गी भएको उनको ठोकुवा छ । 

अब मुलुक मध्य–वामपन्थी र मध्य दक्षिणपन्थी खेमामा विभाजित हुने र एउटाको नेतृत्व राप्रपा र अर्को पक्षको नेतृत्व प्रचण्डपन्थीले गर्ने मिश्रको बुझाइ छ । बदलिँदो सत्ता समीकरणसँगै राप्रपाको अबको भूमिकालगायत विषयमा मिश्रसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेस र एमालेबिचको समीकरण बनेको देखेर तपाईंलाई आश्चर्य लागेन ?

-अहँ लागेन । कांग्रेस र एमालेभित्रका कतिपय मानिसहरूलाई प्रचण्डजीले धेरै नै खेलाउनुभयो अबचाहिँ कांगेस र एमाले मिल्नुपर्छ भनेर कुरा भइरहेकै थियो । त्यसकै परिणाम हो, यो समीकरण ।

‘जादुमयी नम्बर’बाट अब मुलुकले मुक्ति पाएका कारण यो समीकरण स्वाभाविक भएको हो ? के अब कसैले कसैलाई खेलाउन पाउँदैन ?

-यो राष्ट्र केन्द्रित, देश केन्द्रित, इमान केन्द्रित, स्वाभिमान केन्द्रित राजनीति होइन । त्यसैले जतिबेला जे फाइदा हुन्छ, त्यसअनुसारको तोडमोड जतिबेला हुनसक्छ भनेर अपेक्षा गरे हुन्छ ।

Rabindra-mishra-4

दुई ठुला राजनीतिक दल मिलेपछि राजनीतिले सही बाटो समात्यो भन्न सकिँदैन त ?

-जबसम्म यो देश गणतन्त्र खारेजीको, संघीयता खारेजीको, धर्म निरपेक्षता खारेजीको दिशामा जाँदैन र सँगसँगै यो संविधानको ‘सर्भिसिङ’ मात्र होइन व्यापक फेरबदलको दिशामा जाँदैन, त्यस बेलासम्म सही बाटोमा लाग्दै लाग्दैन ।

त्यसो हो भने कांग्रेस र एमालेको समीकरणलाई राप्रपाले किन स्वागत गरेको त ?   

-यो संविधानले काम गर्दैन भनेर हाम्रो सुरुदेखिको दलिल थियो । अब उनीहरू पनि यो संविधानले काम गर्दैन भन्ने विन्दुमा पुगे । हो, यो चाहिँ स्वागतयोग्य कुरा भनेको हो । अब संविधानका कुन–कुन प्रावधानले काम गर्दैन भन्ने विषयमा त छलफल हुन बाँकी नै छ नि ।

तपाईंहरुका मुद्दामा सहमत भएर कांग्रेस र एमाले संविधान संशोधन गर्न तयार होलान् भन्ने आशा पनि छ ?

-यो एजेन्डा मनाउनका लागि सबैले जोड नदिने हो भने यसको चोट यी नेताहरूलाई मात्र पर्ने होइन, तपाईंहरुको पुस्तालाई पनि पर्छ ।

Rabindra-mishra-3

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ ग्रहणमा गएर फर्किएपछि जब उनले कांग्रेस सभापतिसँग राष्ट्रिय सरकारको कुरा गर्न थाले, त्यसपछि कांग्रेस एमालेको समीकरण सम्भव भएको हो भन्ने एमाले अध्यक्ष ओलीको भनाई छ । यसमा तपाईंको भनाई चाहिँ के हो ?

-अनि ओली, प्रचण्ड, देउवाले भनेको कुरा पत्याउनुभयो त तपाईंले ?

समीकरण नै परिवर्तन भइसक्यो अनि नपत्याएर भयो त ? 

-उनीहरूले जे तर्क दिएर समीकरण परिवर्तन भयो भने, त्यही तर्क पत्याउने ?

तपाईंको तर्कचाहिँ के हो त ?

-राजनीति यति फट्याइँ, यति ढट्याइँ, यति इमानहीन तहमा पुगिसक्यो कि यिनीहरूले साँचो कुरा गरेका रहेछन् भने पनि पत्याउन सकिँदैन ।

प्रचण्डलाई ठिक लगाउन उनीबाट धोका पाएकाहरूले गरेको गठबन्धन मात्र हो त यो ?

-चर्चा परिचर्चा नभएका होइनन्, तर मेरो भित्री बुझाई चाहिँ प्रचण्डजीलाई ठिक लगाउन खोजेकै हो, हैरान पार्नुभयो भनेर । तर यो गठबन्धनले पनि छलाङ मार्ने होइन, घस्रिने नै हो ।

भ्रष्टाचारका फाइल खोल्न थालेपछि र खास गरेर वेचन झा समातिएपछि कांग्रेस एमालेले नयाँ समीकरण बनाए भन्ने गृहमन्त्री रवि लामिछानेको आरोप छ नि ।

-यस्तो विषयमा त प्रश्नै नसोधिदिएजस्तो लाग्छ मलाई । रविजीको भनाइमा केही दम छैन । यी सबै फटाहा हुन् । यिनलाई पनि आफ्नो पद र शक्तिबाहेक कुनै चासो छैन ।

Rabindra-mishra-2

अहिलेको समीकरणमा भूराजनीतिक प्रभाव कति परेको छ ?

-राज्य सञ्चालनमा कमजोर भइसकेको देशमा हाम्रो राजनीतिमा छिमेकी देशको चासो हुँदैन भन्ने कुरा हुँदै होइन । हामीले भारतविरुद्ध चीनलाई र चीनविरुद्ध भारतलाई खेलाउने भन्ने सोच्यौँ भने त्योभन्दा महामूर्खता केही हुँदैन । त्यो सोच्दै नसोचे पनि हुन्छ । तर यो कुराको सुनिश्चितता हाम्रो राजनीतिक नेतृत्वले दिन सकेन ।

कांग्रेस र एमाले मिल्दा सरकार शक्तिशाली हुने, प्रतिपक्ष कमजोर हुने देखिन्छ ।  यसले मुलुक अधिनायकवादतिर जाने खतरा हुन्छ कि हुँदैन ?

-आदर्श राजनीति भएको देशमा दुईवटा ठुला प्रतिस्पर्धी दलहरू मिलेर प्रतिपक्षलाई कमजोर पार्दा त्यो लोकतन्त्रले काम गर्दैन । तर आदर्श राजनीति नभएको हाम्रोजस्तो देशमा यिनीहरू मिलुन् कि नमिलुन्, यो घस्रिरहने नै हो । अन्ततः एउटा विन्दुमा गएर नराम्रो भड्खालोमा पर्ने हो । जब यो देशको पत्र–पत्र खस्किन्छ र त्यसबेला कसैले सम्हाल्न सक्दैन ।

आफ्नो विपक्षमा स्पष्ट बहुमत देख्दादेख्दै प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिन लाग्नुको कारण के हुन सक्ला ?

-नैतिक रूपमा भन्ने हो भने उहाँले राजीनामा दिइसक्नुपर्थ्यो । तर संवैधानिक सुविधाको हकमा विश्वासको मत लिन पाउने उहाँलाई अधिकार छ । अब त्यसबिचमा उहाँले जे सक्नुहुन्छ त्यो गर्नुहोला ।

संविधान संशोधन कति सम्भव होला ?

-संविधान संशोधन सहज ढङ्गबाट सम्भव छैन । तर, संविधान संशोधनको कुरा गरेर कांग्रेस-एमालेले अरिङ्गालको गोलोमा हात हालिसके ।

मुलुक दुई दलीय व्यवस्थामा जान खोजेको हो अब ?

-दुई दलीयमा लैजानुस् या बहुदलीयमा यो व्यवस्थाले काम गर्दैन । अब नेपालको राजनीति ध्रुवीकरण हुने हो भने एउटा पक्ष मध्य–वामपन्थी खेमामा र अर्को पक्ष मध्य–दक्षिणपन्थी खेमामा रहनुपर्छ । कांग्रेस, एमाले, माओवादी, रास्वपा मध्य–वामपन्थी खेमाका हुन् भने मध्य–दक्षिणपन्थी खेमाको नेतृत्व राप्रपाले गर्छ । पुराना, नयाँ सबै दल प्रचण्डपन्थी हुन्, प्रचण्डमार्गी हुन् । त्यसको केन्द्रमा प्रचण्ड छन् । उनीहरू सबले एउटै मुद्दा बोकेका छन् । उस्तै मुद्दा बोक्ने दलहरूले दुई ध्रुवको नेतृत्व गर्न सक्दैनन् ।

अहिलेको राप्रपा र यही नेतृत्वले यसको नेतृत्व गर्ला भनेर कसले पत्याउने ?

-राजसंस्था पुनर्स्थापना, धर्म निरपेक्षताको खारेजी र संघीयताको खारेजीको एजेन्डा बोक्ने राप्रपा एउटा पक्ष हो । यस्तै एजेन्डा बोक्ने अरू समूह पनि छन्, जनता पनि छन् ।

Rabindra-Mishra

यस्ता जनता धेरै छैनन् भन्ने त राप्रपालाई भोट नआएकैबाट थाहा भइगयो नि, होइन ?

-चुनावी मत र जनमतको बिचमा अन्तर हुन्छ । जनमत जहाँ हुन्छ त्यहाँ चुनावी मत नहुन सक्छ । उदाहरणको रूपमा ९५ प्रतिशत जनता एमसीसीको विरोधमा थिए । एमसीसी पक्षधर दल र तिनका नेतालाई गाउँ पस्न दिन्नौँ भन्थे । तर सबै गाउँ पनि पसे र चुनाव जितेर पनि आए । अहिले राप्रपाको समस्या के हो भने जनमत राप्रपाको एजेन्डामा छ तर चुनावी मत राप्रपाको एजेन्डामा आइसकेको स्थिति होइन । तर यो अवस्था लामो समयसम्म रहँदैन ।

जनमतलाई चुनावी मतमा परिणत गर्न नसक्नु भनेको राप्रपाको नेतृत्वको कमजोरी देखियो । यसको मतलब राप्रपाको नेतृत्व परिवर्तन हुँदैछ ? अर्ली महाधिवेशनको चर्चा पनि छ ।

-अर्ली महाधिवेशन हुँदैन । कमजोरी नेतृत्वको होइन पार्टीको हो । ३३–३४ वर्षदेखि हामीले आफ्नो एजेन्डा स्थापित गर्न सकिरहेका छैनौँ । चुनावी मत परिवर्तन गर्न सकिरहेका छैनौँ । हामीले सुधार्नुपर्ने कुरा पनि छन् ।

अब बन्ने सरकारमा राप्रपा जान्छ कि जाँदैन ?

-हाम्रो एजेन्डा स्थापित हुने गरी संविधान संशोधन हुने भयो भने सरकारलाई समर्थन रहन्छ ।  रातोपाटि बाट साभार गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x