आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त
नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संबिधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले स्वास्थ्य सेवालाई प्रभावकारी गराउन राज्यले लगानी गर्न जरुरी रहेको समेत बताए । भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवाको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा राज्यको अहिलेको लगानीले संबिधानमा उल्लेख भए वमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था नरहेको पनि बताए । उनले भने–‘अहिलेको लगानीले संबिधानमा उल्लेख गरिएअनुसार राज्यबाट प्राप्त हुने सेवा आमनागरिकले पाएका छैनन् ।

तर राज्यले विस्तारै त्यसलाई कार्यान्वयनमा लगिरहेको छ ।’ उनले स्वास्थ्य क्षेत्रको विकासका लागि तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको पनि बताए । त्यसैगरी उनले जनशक्तिको व्यवस्थापन गर्न पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे । उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे ।
‘तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने अवस्था राज्यसँग छैन उनले भने–‘रातारात जनशक्ति थप्ने अवस्था पनि हामीसँग छैन त्यसैले भएको पूर्वाधार र जनशक्तिबाट प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता छ ।’
यस्तै मन्त्री पौडेलले अस्पतालहरुमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताए ।
मन्त्री पौडेलले अस्पतालको निरीक्षण पनि गरेका छन् । यस्तै अस्पतालले आजैदेखि अनलाइन टिकट काट्न सक्ने व्यवस्थाको समेत शुरूवात गरेको छ । मन्त्री पौडेलको उपस्थितिको अवसर पारेर स्वास्थ्य परीक्षणका लागि अब घरमै बसेर पर्चा (टिकट) काट्न सक्ने व्यवस्थाको शुरूवात गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताए । भेरी अस्पताललाई स्तरवृद्धि र व्यवस्थित बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालको सेवा प्रवाह, समस्या र मन्त्रालयसंग अस्पतालका अपेक्षा लगायतका विषयमा जानकारी गराएका थिए ।
अस्पताल विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, आशा विक र दीपा शर्मा, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिति थियो ।


