उपेन्द्र यादवलाई एक वर्षअघिको आफ्नै अनुहार सम्झन आग्रह – भण्डारी
काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई एक वर्षअघिको आफ्नै अनुहार सम्झन आग्रह गर्नुभएको छ ।
सोमबार निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि गराइएको हस्ताक्षर सनाखतपछि संवाददाताहरुसँग भण्डारीले जालझेल गरेर यादवले आयोगमा बहुमत देखाए पनि त्यसबाट विचलित नहुने प्रतिक्रिया दिनुभयो ।
केही अवसरवादीले अन्तिममा आएर गूट अदल–बदल गरे पनि अघिल्लो कदमका लागि आयोगको निर्णय र अदालतको फैसला कुर्ने भण्डारीले बताउनुभयो ।
एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण गरेर आफूहरुले यादवको राजनीति जोगाइदिएको स्मरण गर्न पनि यादवलाई उहाँले आग्रह गर्नुभएको छ ।
भण्डारीको भनाइ थियो, ‘हामीले अहिले विभाजन मागेको होइन । सबैलाई थाहा छ जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’
त्यति बेला ओली सरकारले यादवको पार्टी फुटाउने उद्देश्यले दल विभाजन अध्यादेशसमेत जारी गराएको थियो । यादवका ९ सांसदले अलग दल खोल्न चाहेकाले सरकारले उक्त अध्यादेश ल्याएको थियो भने ओलीका विश्वास पात्र महेश वस्नेतलगायतले यादव पक्षीय सांसदलाई जनकपुरदेखि अपहरण नै गरेर काठमाडौं ल्याएका थिए ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेकाले ठाकुर पक्ष अल्पमतमा परेको छ । यअघि ओली सरकारमा मन्त्री बनेका राजकिशार यादवसमेतले यादवको पक्षमा सनाखत गर्दा ठाकुर पक्षले समितिमा बहुमत गुमाएको छ । ईमेजखबर


