एमाले सासदको कब्जामा चीनबाट आएको अक्सिजन सिलिन्डर
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ ।
२८ वैशाखमा स्वास्थ्य सेवा महाशाखाले विभागलाई पठाएको पत्रअनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई ५० वटा सिलिन्डर तोकिएको छ । तर अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासका अनुसार ४० वटा मात्र सिलिन्डर आएको छ । चिनियाँ सिलिन्डर कति पायो अस्पतालले भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई ५० वटा कोटा तोकिएको रहेछ । तर हामीले ४० मात्र पायौं । अरु तिर पनि वितरण गर्नुपर्ने भयो, बाँकी पछि दिन्छौं भन्नु भएको छ ।’
वीर अस्पतालको अवस्था पनि फरक छैन । अक्सिजन अभावमा बेड थप्न नसकिरहेको वीरले ५० वटा कोटा पाएको थियो । तर, २५ वटा मात्र पाएको छ । ट्रमा सेन्टरका लागि २५ वटा दिने भनेर जानकारी दिएपनि अझै पनि त्यहाँ पुगेको छैन । अधिकांश अस्पताललाई दिइएको भनिएका केही सिलिन्डरहरु पनि भरेर दिने भन्दै सीसीएमसीले नै राखेको छ ।
निजामती अस्पतालले ४५ वटामध्ये ३० वटा मात्र पाएको छ । अस्पतालका सूचना अधिकृत डा. सुमनबाबु मरहठ्ठा भन्छन्, ‘हामीलाई ३० वटा सिलिन्डर आएको छ । नौ वटा अक्सिजन कन्सन्ट्रेटर पनि आएकाले व्यवस्थापन भएको छ । बाँकी पछि दिन्छौं भन्नुभएको छ ।’
सशस्त्र प्रहरीको एपीएफ अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज लगायतका अधिकांश अस्पतालमा स्वास्थ्य सेवा महाशाखाले तोकेअनुसार चिनियाँ सिलिन्डर पुगेको छैन । एपीएफले २५ वटामध्ये २० वटा, आयुर्वेदले २० मध्ये १५ वटा र केएमसीले २० मध्ये १० वटा मात्र सिलिन्डर पाएको छ ।
त्यसो भए कहाँ गयो त चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर ? त्यसको जवाफ दिन स्वास्थय मन्त्रालयका अधिकारी तयार छैनन् । किनकि सत्तारुढ नेकपा एमालेका सांसदहरुले राजनीतिक पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा भएको अस्पताल तथा आइसोलेसन सेन्टरमा ती सिलिन्डर लगेका छन् ।
दाङमा मात्र एमाले सांसदहरुले २७ वटा अक्सिजन सिलिन्डर लगेको पाइएको छ । सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले १०-१० वटा र गंगा चौधरी सत्गौवाले ७ वटा चिनियाँ अनुदानका अक्सिजन सिलिन्डर लगेको पाइएको छ ।
एमाले सचेतक समेत रहेकी शान्ता चौधरीले अनलाइनखबरसँग भनिन्, ‘हामी जनप्रतिनिधि हौं, जनताले खोजिरहेका छन् । त्यसैले सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिएर जाँदैछौं ।’ सम्बन्धित अस्पतालबाट आएको माग फारमअनुसार स्वास्थ्य मन्त्रालयले सिलिन्डर उपलब्ध गराएको उनले बताइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालका नाम राखेर लगिएका सिलिन्डर कसले कति पाउँछन् भन्नेबारे निर्क्योल नभएको चौधरीले बताइन् । उनले सिलिन्डर आफूहरुको लागि नभई निर्वाचन क्षेत्रका जनताको लागि भएको बताइन् ।
अर्की सांसद गंगा चौधरीले सिलिन्डरहरु लमहीस्थित कोभिड आइसोलेसन सेन्टरमा दिएकी छन् । अस्पतालको माग फारमअनुसार स्वास्थ्य विभागले अक्सिजन सिलिन्डरहरु दिएको भन्दै उनले भनिन्, विभागको भर्पाइ लगायतका सबै प्रमाण मसँग छ ।’

बिरामीसँग चाहिँ कबुलितनामा !
सरकारले तोकेको कोटाअनुसार सिलिन्डर नपाएका अस्पतालहरु भने अक्सिजन अभावसँग जुधिरहेका छन् । त्यसमध्ये एक हो, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर ।
अस्पतालको एचडीयूका २५ र अब्र्जेभेसनमा रहेका ९ जनालाई अक्सिजन सपोर्ट दिनु परेको छ । यसका लागि दैनिक ३० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । सरकारले तोकिदिएको उद्योगले मागअनुसार अक्सिजन उपलब्ध गराउन सकेको छैन । ‘उद्योगले दिनमा मुस्किलले १० सिलिन्डर अक्सिजन दिन्छ’ कोभिड फोकल पर्सन डाक्टर जितेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने, ‘बाँकी विभिन्न ठाउँमा हारगुहार गरेर जुटाइरहेका छौं ।’
अस्पतालले चिनियाँ सिलिन्डर १५ वटा अस्पतालले पाएको थियो । तर सिलिन्डर कहाँ भर्ने भन्ने सोधीखोजी गर्दा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आफूलाई दिए एक दिनपछि भरेर फिर्ता गर्ने प्रतिवद्धता जनायो । ‘सीसीएमसीले दिन्छु भनेपछि हामीले पुराना आठ वटा सिलिन्डर पनि दिएर पठायौं,’ श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म त्यो सिलिन्डर आइपुगेकै छैन ।’
अस्पतालले पटक-पटक यसबारे सोध्दा सीसीएमसीले आइतबार साँझसम्म पठाउने भाका राखेको छ । तर, साँझसम्म चीन आएपछि दिइएका १५ वटा मात्रै होइन, अस्पतालले भरिने आशमा पठाएका ८ वटा सिलिन्डर पनि फर्किएको छैन ।
अक्सिजन अभाव भएपछि अस्पताल प्रशासनले बिरामीका आफन्तहरुलाई पनि अक्सिजन खोज्न आग्रह मात्र गरेको छैन, अक्सिजन अभावमा तलमाथि भए जिम्मेवार नहुने बताएको छ । ‘हामीले आपूर्ति धान्न सकेनौं, अक्सिजनका कारण केही तलमाथि भयो भने जिम्मेवार हुँदैनौं भनेर मौमिख रुपमा भनेका छन्,’ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितका आफन्तले भने ।https://www.facebook.com/v2.7/plugins/post.php?app_id=280041239029772&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df25fe2024be8728%26domain%3Dwww.onlinekhabar.com%26origin%3Dhttps%253A%252F%252Fwww.onlinekhabar.com%252Ff184b538d70f294%26relation%3Dparent.parent&container_width=320&href=https%3A%


