२ श्रावण २०८३, शनिबार

काँग्रेस बाँकेले ६ महिने अभियान सञ्चालन गर्ने

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार २२:१७ मा प्रकाशित

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले ६ महिने अभियान सञ्चालन गर्दैछ । सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमिति बैठकले आगामी भदौ २४ गतेदेखि ६ महिने अभियान सञ्चालन गर्ने गरी वडा वडामा छिर्ने निर्णय गरेको हो । भदौ २४ गतेदेखि फागुन मसान्तसम्म ८१ वटै वडामा दोस्रो जिल्ला सम्मेलनबाट पारित “जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके काँग्रेसको अभियान“ सञ्चालन गर्ने निर्णय गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।

जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोलस्तरमा रहेका नेपाली कांग्रेसका अगुवा जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने, स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगतरुपमा पहलकदमी लिने, जनताबाट आएका गुनासो, सल्लाह–सुझाब संकलन र विश्लेषण गरी समाधानको लागि योजना बनाई अगाडि बढ्ने, अनावश्यक भ्रमहरु चिर्दै नेपाली कांग्रेस केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति बाँकेले गरेका महत्वपूर्ण कार्यहरुको बारेमा समुदायस्तरमा जानकारी दिने, सामाजिक संघसंस्थाको गतिविधि र त्यसमा नेपाली कांग्रेसको नेतृत्वको अवस्था विश्लेषण गरी आगामी रणनीति तयार गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाई नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन गर्न लागिएको सभापति गौडेलले बताए ।

यसका लागि प्रतिनिधि खटाउने जिम्मेवारी सभापति गौडेललाई नै दिइएको छ । प्रतिनिधिका रुपमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकारहरु, पूर्व महासमिति, महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई खटाइनेछ । यसैगरी बैठकले ८१ वटै वडाका सभापतिहरुलाई बोलाएर क्रियाशील सदस्यता नवीकरण कार्ड वितरण गर्ने निर्णय पनि गरेको सचिव सुधांशु कोइरालाले बताए । बैठकमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला)को पनि उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x