१२ मंसिर २०८३, शुक्रबार

कांग्रेसमा वडादेखि केन्द्रीय संरचनासम्म ३३ प्रतिशत महिला सुनिश्चित गर्न आरजुले थालिन् अर्को लडाइँ, नेतृहरुको बलियो साथ

एसीपी संवाददाता

१२ फाल्गुन २०८०, शनिबार २१:२३ मा प्रकाशित

काठमाडौँ । हरेक समुदायको राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अगुवाई गरेको नेपाली कांग्रेसमा हरेक सांगठनिक संरचनामा कम्तिमा एक तिहाइ महिलाको सहभागिता सुनिश्चित गर्न नेतृ डा. आरजु राणा देउवाले लडाइँ सुरु गरेकी छन् । पार्टीमा महिलाको आवाज सुनाउन यसअघि पनि नेतृत्वदायी भूमिका खेलेकी आरजुले भर्खरै सम्पन्न महासमिति बैठकमा महिलाको समान सहभागिताको एजेण्डालाई बेवास्ता गरिएपछि अर्को लडाइँ सुरु गरेकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाको कृषि समिति सभापति आरजु राणा देउवाले महासमिति बैठकमा उपस्थित हुन आएका महिला प्रतिनिधिलाई समेटेर पार्टीभित्र रुपान्तर र समावेशी परिवर्तनका लागि संघर्ष थालेकी हुन् । संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नका लागि आफूले महिला साथीहरुको अगुवाई गरेको नेतृ राणाले बताइन् ।

आरजुले निर्वाचन प्रणाली फेर्न बहस भइरहेको भन्दै समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि पर्नेमा सचेत गराउँदै महिलाहरुको अधिकार कुण्ठित गर्ने कदम स्वीकार्य नहुने बताइन् । समानुपातिक र समावेशी प्रतिनिधित्वले राज्य संरचनामा पछाडि परेको समुदायका महिलाले पनि अवसर पाएको र राज्यको मुलधारमा स्थापित हुँदै गरेको तथ्य भुल्न नहुने उनले स्मरण गराइन् । आरजुले नेतृत्व गरेको अभियानमा सहभागी हुँदै महिला महासमिति सदस्यहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका थिए ।

बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको उनीहरुको भनाइ थियो । नेतृहरुले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रिय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताए । सांसद कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा महिलाका लागि थप उर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताइन् ।

सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिन आवश्यक रहेको उनको भनाइ थियो । ‘महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिएको छ तर त्यस भन्दा थप उर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन्। सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनेछ,’ उनले भनिन् । नेतृ पुष्पा भुसालले कांग्रेसले महिलासम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राखिन् ।

सामाजिक, आर्थिक, राजनीतिक रुपमाबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्नेमा जोड दिँदै उनले महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने भए पनि हुन नसकेको गुनासो गरिन् । ‘कांग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ। महिला नीति बन्नुपर्छ भन्ने माग राखेका थियौँ।

सामाजिक, आर्थिक, राजनीतिक रुपबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ। महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने थियो, समावेश भएन ।’ नेतृ सरस्वती अर्यालले महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच नपुगेको आवाज उठे पनि सम्बोधन नभएको गुनासो गरिन् । उनले पार्टीको पदाधिकारीमा महिलाको पहुँच नपुगेको बताइन् । महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबीचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने बताइन् ।

‘आवाज त प्रत्येक पटक महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच पुगेन, पार्टीको पदाधिकारीमा महिलाको पहुँच पुगेन। हरेक संरचनामा महिला हुनुपर्छ । महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्छ। महिला महिलाबीचमा लड्ने क्षेत्र तयार हुनुपर्छ,’ उनले भनिन् . नेतृ रंगमति शाहीले कांग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको बताइन् । उनले महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भएपनि नीति बनेर नआएको बताइन् । अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्ने माग गरिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x