५ श्रावण २०८३, मंगलवार

कांग्रेस–एमाले गठबन्धन : लुम्बिनीमा साना दलहरूको महत्त्व घट्यो

एसीपी संवाददाता

२२ असार २०८१, शुक्रबार १२:३३ मा प्रकाशित

बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै लुम्बिनी प्रदेशमा साना दलहरू निराश बनेका छन् । सत्ता समीकरण फेरिँदा संसदीय अङ्कगणितमा महत्त्वपूर्ण मानिएका साना दलले निकै महत्त्व पाउने गरे पनि यस पटक प्रदेश सभाका दुई ठुला दल मिलेर बनेको समीकरणमा त्यति महत्त्व नपाउने देखिन्छ ।

१० दल रहेको लुम्बिनी प्रदेश सभामा अहिले माओवादी नेतृत्वमा सरकारलाई स्वतन्त्रसहित ६ दलको समर्थन छ । यसअघि लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री हुँदा ८ दलको समर्थन थियो ।

माओवादी नेतृत्वलाई सरकारको समर्थन फिर्ता लिएर एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि अहिले प्रदेश सरकारमा रहेका साना दल नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी पार्टी, स्वतन्त्र सांसद खड्ग बस्नेत समेत सत्ताबाट विमुख बन्ने अवस्था देखिएको छ ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी प्रसाद चौधरीले मुख्यमन्त्री जोख बहादुर महरालाई भेटेर हार्दिकता साथ सरकारबाट बाहिरिन आग्रह गर्ने रातोपाटीलाई बताए ।

उनले केन्द्रमा सत्ता समीकरण फेरिएकाले मुख्यमन्त्रीलाई भेटेर सरकार छाड्न आग्रह गर्ने भएको जानकारी दिए ।  ‘नभए समर्थन फिर्ता लिने अन्य प्रक्रिया छँदैछ,’ उनले भने ।

लुम्बिनी प्रदेशमा दोस्रो प्रदेश सभा निर्वाचनपछि अहिलेसम्म साना दलको महत्त्व रहे पनि अब बन्ने चौथो सरकारमा साना दलको बार्गेनिङ पावर घट्ने नागरिक उन्मुक्ति पार्टीकी सचेतक नरमाया ढकालले रातोपाटीलाई बताइन् ।

उक्त पार्टीबाट धर्म बहादुर चौधरी अहिले भौतिक पूर्वाधार मन्त्री छन् । उनी नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा पनि मन्त्री बनेका थिए । अब नयाँ सत्ता समीकरणमा आफ्नो पार्टी लुम्बिनी प्रदेश सरकारमा सामेल हुने सम्भावना निकै कम रहेको सचेतक ढकालले बताइन् ।

उनले भनिन्, ‘नयाँ समीकरणमा एमाले र कांग्रेसकै सांसदमात्र हुँदा बहुमत पुग्ने भएकाले अब हामीलाई खोज्दैनन् होला ।’

जसपा नेपालबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरको बुझाइ पनि त्यस्तै छ । सानो दल भए पनि पटकपटक मन्त्री बन्ने अवसर पाएको बताउँदै उनले अब मन्त्री पाउने सम्भावना कम रहेको बताए ।

उनले केन्द्रको निर्देशन अनुसार सरकारमा जाने–आउने भए पनि सङ्ख्या हिसाबले यहाँ एमाले, कांग्रेस मिल्दा बहुमत पुग्ने भएपछि आफ्नो पार्टीको आवश्यकता कम देख्नु स्वाभाविक रहने बताए ।

स्वतन्त्र सांसद खड्क बस्नेत अहिले लुम्बिनी प्रदेशको उद्योग, पर्यटनमन्त्री छन् । उनले केन्द्रमा कांग्रेस–एमाले बिच भएको समीकरणले गर्दा आफूले पद छाड्नुपर्ने निश्चितजस्तै भएको बताए । उनले अब मन्त्री छाडेर सांसदको रूपमा जनताको काम गर्ने रातोपाटीलाई बताए ।

लुम्बिनीमा प्रदेशमा अहिले जोखबहादुर महराको नेतृत्वमा १२ सदस्यीय मन्त्रीमण्डल छ । ८७ सिट रहेको लुम्बिनी प्रदेशमा एमाले र कांग्रेसको ५६ सिट छ । जबकि ४४ सिट हुँदा बहुमत पुग्ने हुन्छ । त्यही अङ्कगणितको आधारमा साना दलहरूले अब सरकारमा ठाउँ पाउने आस कम गरेका छन् ।

नयाँ समीकरणको अङ्कगणित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले राजीनामा दिन्छन् वा प्रदेश सभामा विश्वासको मत लिन पहल गर्छन् भन्ने प्रस्ट भइसकेको छैन । एमाले–कांग्रेस गठबन्धनले पनि सरकार गठनका बारेमा अहिलेसम्म ठोस निर्णय गरिसकेका छैनन् ।

एमालेका मुख्य सचेतक तुलसी प्रसाद चौधरीले सत्ताबाट माओवादीको वहिर्गमनपछि नयाँ सरकार गठनको पहल थालिने बताए । केन्द्रमा हुने सहमति अनुसार नै प्रदेशमा आवश्यक प्रक्रिया थालिने उनको भनाइ छ ।

अहिले लुम्बिनी प्रदेशमा सरकारलाई समर्थन नगरेका दलहरू राप्रपा, लोसपा, जनमत पार्टीले केन्द्रको निर्देशन अनुसार अब बन्ने सरकारमा जाने आस गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेयले केन्द्रमा कांग्रेस र एमालेसँगै आफ्नो पार्टी पनि सरकारमा जान सक्ने सम्भावना रहेको रातोपाटीलाई बताए ।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले पनि मधेस प्रदेशको अवस्था हेरेर लुम्बिनी प्रदेशमा सरकारमा जान सक्ने बताए । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x