काङ्ग्रेस महाधिवेशन तनाव , मंसिर भित्र निर्वाचन गराउन निर्देशन
१० गते कात्तिक २०७८ । कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार बसेको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिए, ‘तपाईंहरुलाई कुनै हस्तक्षेप छैन । मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुस् ।’ देउवाको निर्देशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पनि सहमत भए ।
कांग्रेसको महाधिवेशन सार्ने वा कार्यतालिका बनाउने निर्णय गर्न विधानतः केन्द्रीय कार्यसमिति बस्नु आवश्यक हुन्छ । तर, मंगलबारको बैठकमा न सबै पदाधिकारी थिए, न पूर्वपदाधिकारी । बैठकमा उपसभापति विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, र पूर्णबहादुर खड्का तथा कोषाध्यक्ष सीतादेवी यादवको समेत थिएन ।
सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला बसेर यसअघि संवैधानिक संकट टार्ने गरी मंसिर ९–१३ का लागि तोकिएको मितिमा महाधिवेशन नगर्ने निर्णय गरे । उनीहरुले पाचौंपटक महाधिवेशन सारेर मंसिरभित्र सम्पन्न गर्ने सहमति गरे । उनीहरुले त्यहीअनुसार निर्वाचन समितिलाई सम्पूर्ण अधिकारसहित महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा ३ नेताबाहेक उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशसरण महत र सुनिलबहादुर थापामात्रै सहभागी थिए ।
बैठकपछि सहमहामन्त्री महतले महाधिवेशनको कार्यतालिका तोकेर प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको बताए । ‘बैठक अधिवेशनको प्रक्रियालाई अघि बढाउने कुरामा केन्द्रीत भयो । सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले अधिवेशनको प्रक्रियालाई चाडोभन्दा चाडो अघि बढाउनुस् । मंसिरभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्छ । त्यहीअनुसारको कार्यतालिकाका लागि होमवर्क गर्नुस् । प्रक्रिया अघि बढाउनुस् भनेर निर्देशन गर्नुभयो । त्यो विषयमा सबैको साझा सहमति बन्यो,’ महतले भनेका छन् ।


