काङ्ग्रेस सभापति देउवाले भने पार्टीभित्र एकता कायम गर्नुको विकल्प छैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताएका हुन्।
नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो। ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने जिकिर गरे।
ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने, ‘निरन्तर लाग्ने नेताहरु अवसरवाट वञ्चित हुन पर्दैन।’ उनले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको बताएका छन्। मुलुकको समस्या समाधानका लागि अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। रासस


